दार्जिलिङ: आजदेखि दार्जिलिङ हिल युनिभर्सिटीको उप कुलपतिको रूपमा पदभार डा प्रेम पोद्दारले सम्हालेका छन्। मङपु आईटीआई भवनमा निर्मित अस्थायी दार्जिलिङ हिल युनिभर्सिटी भवनमा आज उनले प्रथमचोटि परिभ्रमण गर्दै स्थानीय प्रशासन अनि नर्थ बेङ्गाल युनिभर्सिटी अधीनस्थ विभिन्न कलेजको प्रोफेसरहरूसित एक घण्टाजति बैठक गरे। आजको सभामा नर्थ बेङ्गाल युनिभर्सिटीबाट डा नुपुर दास,जीटीए सिँचाई विभागका सचिव मानवन्द्र मोदाक, तकदाह खण्ड विकास अधिकारी भरातीचिक बराईक अनि अन्य अधिकारीगण उपस्थित रहेका थिए। दार्जिलिङ हिल युनिभर्सिटीको अनलाईन क्लास चलिरहेता पनि अफलाईन क्लास कहिँलेदेखि शुरु हुन्छ अहिले नै भनिहाल्न नसकिने कुरा उप कुलपति पोद्दारले बताएका छन्।

जोगीघाटमा निर्माणाधीन हिल युनिभर्सिटी कहिलेसम्म बनिसक्ला अनि अफलाईन क्लासको लागि प्रोफेसर साथै ग्रुपसी अनि ग्रुप डीहरु नियुक्ति विषयमा प्रश्न गर्दा उनले सरकारले यस विषयमा काम गरिरहेको अनि सरकारको इच्छा शक्तिमा सबै निर्भर रहने बताएका छन्। उप कुलपति डा.प्रेम पोद्दार केही दिन मङ्पुमा नै बस्ने अनि आज क्षेत्रभरिका विभिन्न कजेजका प्रोफेसरहरुसित बैठक गरेको जानकारी प्राप्त भएको छ। बैठकपछि उनलेे सिन्कोना बगान निर्देशक डा. सामुएल राईसित निर्देशक बङ्लोमा पुगेर भेट गरेका छन्। उप कुलपति डा.पोद्दारले आज नै जोगीघाटमा निर्माण हुँदै गरेको दार्जिलिङ हिल युनिभर्सिटी क्षेत्रको पनि परिभ्रमण गरेका थिए।