कालचिनी। गत अप्रेल महीनाबाट पाना सेतु संलग्न एउटा कज वे को काम प्रायः ५८ लाखको लागतमा शुरु भएको थियो भने हालै मात्र उक्त कज वे को काम पुरा भएको बताए तापनि सो कज वे कामबाट सेन्ट्रल डुवर्स चियाबारीको बासिन्दाहरू सन्तुष्ट नभएको जान्नमा आएको छ। लगातार पानी परिरहेकोले अहिले पाना नदीमा भोटाङबाट बगेर आउने भङ्गालोले पाना सेतुको उत्तरी भाग संलग्न रहेको बाटोलाई बगाएकोले नै सो कज वे काम शुरु भएको थियो तर नदीको भङ्गालो रोक्न बनाईएको सो कज वे माथि अहिले नदी बगिरहेको र कज वे को फिनिसिङ काम लाबारलुबुर गरिएकोले सेन्ट्रल डुवर्स चियाबारीको बासिन्दाहरू विक्षुब्ध बनेका छन्।
सेन्ट्रल डुवर्स बेरोजगार युवा सङ्घको पक्षबाट उर्गेन गुरुङले बल्ल बल्ल सरकारले प्रायः ५८ लाखको लागतमा यो कज वे बनाउन लगाएको तर कामले हामी सेन्ट्रल डुवर्स चियाबारी बासिन्दाहरू खुसी नभएको बताएका छन्। जुन हिसाबमा काम गर्नुपर्ने थियो त्यो नभएको र आजभोलि भित्र नदीको भङ्गालो आए यो कज वे सबै बगाएर लैजाने उर्गेन गुरुङले बताएका छन्। कामको ठिकादार र काम हेर्ने सबैले दायित्व लिएर काम नगरेको आरोप सो बाटो आउजाउ गर्नेहरूले जनाएका छन्।










