अष्ट्रेलिया नम्बर एकः म्याच, सीरीज र शीर्ष ऱ्यांकिंग सबै गुमायो भारतले

IMG-20230323-WA0093.jpg

२३ मार्चः गत चार सालमा घरेलु मैदानमा सबै प्रारूप मिलाएर २६ वटा सीरीज जितेपछि भारतीय क्रिकेट टीमले पहिलोपल्ट हारको सामना गर्नु पऱ्यो। अष्ट्रेलियाले तीनवटा म्याचको वनडे सीरीजमा बुधवार भारतलाई २-१-ले पराजित गऱ्यो। चेन्नईको एमए चिदम्बरम स्टेडियममा अष्ट्रेलियाले दिएको २७० रनको लक्ष्यलाई पछ्याउँदै भारतीय टीम २४८ रनमा अलआउट भयो। शुरुवाती दुईवटा म्याचमा मिचेल स्टार्कको गति र स्विंग अघि ध्वस्त हुने भारतीय ब्याटिंग क्रमले तेस्रो तथा निर्णायक वनडे म्याचमा अष्ट्रेलियाई स्पिन आक्रमण अघि आत्मसमर्पण गऱ्यो। तेस्रो म्याचमा एडम जाम्पाले ४ अनि एश्टन एगरले २ विकेट लिएर भारतको चुनौतीलाई माटोमा मिलाए।
भारत विरुद्ध २१ रनले जीतको साथ अष्ट्रेलियाले आईसीसी वनडे ऱ्यांकिंगमा पनि पहिलो स्थान हासिल गऱ्यो। सीरीज गुमाएपछि भारत चाहिँ झरेर दोस्रो स्थानमा रहन पुग्यो। यस साल जनवरीमा न्यूजील्याण्डलाई ३-०-ले पराजित गरी भारतले शीर्ष स्थान हासिल गरेको थियो। त्यसपछि भारतले श्रीलंकालाई पनि ३-०-ले पराजित गरेको थियो। घरेलु मैदानमा लगातार आठवटा वनडे म्याच जितेर भारत यस साल आफ्नो देशमा हुने वर्ल्ड कप अघि असल स्थितिमा देखिएको थियो तर अष्ट्रेलियाई टीमले पहिला विशाखापट्टनम अनि बुधवार चेन्नईमा जीत हासिल गरी रोहित शर्माको कप्तानीमा रहने टीमलाई ऐना देखायो।
निर्णायक म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलिया ४९ ओभरमा २६९ रन बनाएर अलआउट भयो। मिचेल मार्शले सर्वाधिक ४७ रन बनाए। यसबाहेक विकेटकीपर एलेक्स केरीले ३८, ओपनर ट्रेविस हेडले ३३, मार्नस लेबुशेनले २८, सीन एबटले २६, मार्कस स्टोइनिसले २५ र डेविड वार्नरले २३ रनको योगदान दिए। भारतीय बलरहरूमा हार्दिक पाण्ड्या र कुलदीप यादवले ३-३ विकेट लिए। यसबाहेक मोहम्मद सिराज र अक्षर पटेलले २-२ सफलता हासिल गरे। जवाफमा भारतीय टीम ४९.१ ओभरमा २४८ रन बनाएर अलआउट भयो। विराट कोहलीले सर्वाधिक ५४ रन बनाए। यसबाहेक हार्दिक पाण्ड्याले ४०, शुभमन गिलले ३७ र कप्तान रोहितले ३० रनको योगदान दिए। सूर्यकुमार यादव लगातार तेस्रो म्याचमा पहिलो बलमै खाता नखोली आउट भए। केएल राहुलले ३२ रन बनाए। एडम जाम्पाले प्लेयर अव् द म्याच अनि तीनवटा म्याचमा १९४ रन बनाउने मिचेल मार्शलाई प्लेयर अव् द सीरीज चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement