घुम्ती चियाबारीको बंगलो आगलागीमा जलेर नष्ट

IMG-20230322-WA0237.jpg

४-५ करोड़ बराबरको सम्पत्ति नष्ट

खरसाङ: खरसाङ महकुमा अन्तर्गत घुम्ती चियाबारीको ब्रिटिशकालमा बनिएको बंगलो आगलागीमा जलेर नष्ट भएको छ। आज बिहान लगभग १०.३५ बजेतिर घुम्ती चियाबारीको बंगलो (रिसर्ट) को एक कोठामा सट सर्किट भएर आगो लागेको बताइएको छ। एक कोठाबाट निक्लेको आगोले पूरै बंगलोलाई चपेटमा पारेपछि पूरै बंगलो जलेर नष्ट भएको छ। आगलागीमा घुम्ती चियाबारीको बंगलो जलेर लगभग ४-५ करोड़को सम्पत्ति नष्ट भएको बताइएको छ। घुम्ती चियाबारीको श्रमिकहरूले बताए अनुसार बिहान मेलोमा भएको बेला बगानको घण्टी लगेपछि सबैजना कुदेर आएर हेर्दा बगानको बंगलोमा आगो लागेको थाहा लागेको बताएका छन्। आगलागी भएपछि बगानको श्रमिकहरू, स्टाफहरू र स्थानीयहरू आएर आगो निभाउने प्रयास गरेता पनि नसकेको कारणले आगोले ठूलो रूप लिएपछि बंगलो सबै जलेर नष्ट भएको छ। आगलागी भएपछि बंगलोभित्र रहेको कतिपय सामानहरू सबैले मिलेर निकालेका थिए भने सामानहरू निकालेर अर्कोतिर सारिएको छ। स्थानीयहरूले बताए अनुसार घुम्ती चियाबारीको कोठी वा बंगलो बिहान लगभग १०.३० बजेतिर आगलागी भएर जलेको छ। घुम्ती चियाबारीको यो बंगलो ब्रिटिशकालमा नै निर्माण गरिएको जुन घुम्ती चियाबारीको लागि मुख्य सम्पत्ति मानिन्थ्यो। यो बंगलो घुम्ती चियाबारीको मानिसहरू र श्रमिकहरूका भावनासित जोडिएको थियो। यहाँ केही वर्षहरू अघि सुपर स्टार रजनीकान्तले पनि फिल्म सुटिङ गरेका थिए। घुम्ती चियाबारी महानदी टी कम्पनीको अधीनस्थ रहेको छ भने गत एक डेढ वर्ष अघि घुम्ती चियाबारीलाई नयाँ मालिकले किनेर चलाउँदै आईरहेका थिए। आगालागी भएपछि श्रमिकहरूले रुँदै सर सामानहरू सारिरहेको देखियो। आगलागीको घटना सुनेपछि खरसाङ अग्नि शमन केन्द्रको कर्मचारीहरू आएर आगो निभाउने प्रयास गरेका थिए। शुरुमा सानो दमकल आएको अनि त्यसमा पनि पाइपहरू फुटेको कारणले समयमा नै अागो निभाउन नसकेको साथै ठूलो दमकल ढिलो आएको स्थानीय श्रमिकहरूको आरोप छ। यस विषयमा स्थानीय श्रमिकहरूले अग्नि शमन केन्द्रप्रति आक्रोश पोखेका थिए। स्थानीय श्रमिकहरूको भनाई अनुसार शुरुमा आगो सानो थियो अनि समयमा नै दमकल आएर निभाएको भए ठूलो क्षति नहुने बताएका छन्। श्रमिकहरू अनुसार शुरुमा सानो दमकल आएको तर त्यसको फिता फाँटेको कारणले पानी नसरेर आगो निभाउन नसकिएको बताएका छन्।

त्यसरी नै ठूलो दमकलको ड्राइभर नभएकोले समस्या भएको अनि ठूलो दमकल पछिबाट आएको साथै श्रमिकहरूले सरकारले दिएको दमकल सेवामा ड्राईभर र पानी अनिवार्य रूपमा हुनु पर्ने हो तर किन तेसो भएन भनी प्रश्न तेर्साएका छन्। तर पनि पछिबाट भने मतिगढ़ाबाट पनि अर्को एउटा दमकल आएको थियो। घुम्ती चियाबारीमा भएको आगलागीको घटनामा खरसाङको महकुमा शासक आईएएस एजाज अहमद आफै उपस्थित रहेका थिए। त्यसरी नै खरसाङ पुलिस थानाको आईसी निबेन्दु सरकार लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त आगलागीको घटनापछि पत्रकारहरूसित कुराकानी गर्दै घुम्ती चियाबारीको प्रबन्धक जवाहर चौधरीले कम्तीमा पनि ४-५ करोड़को सम्पत्ति नष्ट भएको बताएका छन्। उनले घुम्ती चियाबारीको रिसर्टमा इलेक्टोनिङ सर्ट सर्टिकको कारणले आगो लागेपछि उक्त आगोले ब्रिटिशकालमा बनिएको रिसर्ट जलेर नष्ट भएको बताएका छन्। प्रबन्धक चौधरीले दमकलको कामप्रति सन्तुष्ट नरहेको बताउँदै हालाकि आगोलाई कन्ट्रोलमा लिइएको छ तर पनि रिसर्ट सबै जलेर नष्ट भएको बताएका छन्। उनले आगलागीको कारणले कम्तीमा पनि ४-५ करोड़को सम्पत्ति नष्ट भएको र यस आगालागीको घटना विषयमा मै मालिकलाई पनि जानकारी गराइएको बताएका छन्।
त्यसरी नै घुम्ती चियाबारीको एकजना श्रमिक प्रनिता थापाले दमकल शुरुमा सानो आएको अनि पाइप पनि फाँटेको आएकोले समयमा नै आगो निभाउन नसकेको बताइन्। ब्रिटिशकालीन घुम्ती चियाबारीको बंगलो आगलागीमा जलेर नष्ट भएकोले श्रमिकहरू निक्कै भावुक देखिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *