नक्सलबारी: नवजात शिशुको शव सड़क किनारको झाड़ीबाट बोरामा उद्धार गरिएको थियो। सो शिशुको पोस्टमार्टम रिपोर्टको आधारमा नवजातको आमालाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत शुक्रबार नक्सलबारीको स्टेसनपाडाको प्रेम नगर इलाकामा सडक किनारको एउटा झाडीबाट बोरामा नवजात शिशुको शव उद्धार गरेको थियो। त्यसपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको थियो। यसपछि दार्जिलिङ जिल्ला पुलिसको अतिरिक्त पुलिस सुपर मनोरञ्जन घोषले जानकारी गराए अनुसार पोस्टमार्टम रिपोर्टमा नवजात शिशुको टाउकोमा चोटको चिन्ह देखापरेको छ। यसको आधारमा अभियोग दर्ता गरेर नवजात शिशुको आमालाई पक्राउ गरेको छ। पक्रा परेकी महिलालाई सिलगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको छ।