सुल्डुङ-कामलिङ जीपीयूमा विश्व जल दिवस पालन गरियो

Untitled-1-copy-51

नाम्चीः सोरेङ जिल्लाअन्तर्गत मङ्गलबारे खण्ड प्रशासन केन्द्रस्थित सुल्डुङ-कामलिङ ग्राम पञ्चायत एकाईले आज विशेष ग्राम सभाको अवसर पारेर विश्व जल दिवस भव्यताका साथमा पालना गरेको छ। सभालाई सुल्डुङ-कामलिङ ग्राम पञ्चायत एकाईका सभापति ग्याल छिरिङ लेप्चाले अध्यक्षता गरेका थिए। राष्ट्रिय गान गाएर शुरू गरिएको यस विशेष सभामा विश्व जल दिवस पालनासँगै जल जीवन मिशन, स्वच्छ भारत मिशन, क्षयरोग अनि वित्तीय साक्षरता विषयादिमा जागरुकता शिविर पनि सम्पन्न गरिएको थियो।

सभापति लेप्चाले आफ्नो स्वागत भाषणमा आमन्त्रित अतिथिहरू र स्रोत वक्ताहरूलाई स्वागत जनाउँदै आबउसो सुल्डुङ-कामलिङ ग्राम पञ्चायतलाई पूर्ण रूपमा ओडीएफ प्लस ग्राम पञ्चायत एकाई घोषणा गरे। विश्व जल दिवसबारे सहायक निर्देशक राजकुमार राईले बोल्दै पानीको महत्व र मूल्यबारे उपस्थित सभाका सदस्यमा पस्के भने हरेकले आ-आफ्नो स्तरबाट पानीको सुरक्षा र संरक्षण गर्नुपर्ने कुरामा बल दिए।

जिल्ला पञ्चायत सदस्य देउकुमार मङ्गरले आफ्नो वक्तव्यमा आजको शिविर सफल भएको बताउँदै जल सुरक्षा र संरक्षण गर्न सबैले हातेमालो गरेर जुटेको खण्डमा मात्र जल जीवन मिशनको उद्देश्य र लक्ष्य पूर्ण हुनेछ भने। स्रोत वक्ताहरूमा अर्बिन थापा, मिक्मा लेप्चा, एरिना लेप्चा, सबिन राई उपस्थित थिए। विशेष सभामा जिल्ला पञ्चायत सदस्य देउकुमार मङ्गर, सीबी योञ्जन, पिटर लेप्चा, टीकामाया कामी, दिलकुमारी मङ्गर, जमुना मङ्गर, चन्दन तामाङ, सुक प्रसाद तामाङ्ग, दुषण तामाङ, अर्जुन तामाङ आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement