सिलगढी: दार्जीलिङ र कालेबुङका जनताको तर्फबाट पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवलाई आफुले आभार व्यक्त गरेको सांसदराजु बिष्टले बताएका छन्l यस बारेमा प्रेस विज्ञप्ति जारी गरेर उनले भने, ‘एमओईएफ एण्ड सीसीद्वारा कार्यान्वित राष्ट्रिय हिमालय अध्ययन मिशनअन्तर्गत ‘भारतीय हिमालय क्षेत्रमा पुरातन नगरीय ठोस फोहोर प्रबन्धनमा सुधारका लागि एकीकृत वैज्ञानिक समाधान’लाई स्वीकृति प्रदान गरेका छन्l’
यस विषयलाई लिएर सांसद राजु बिष्टले मन्त्रीलाई ३० जनवरीमा पत्र लेखेको बताएका छन्l उनले भने, ‘हाम्रो क्षेत्रका लागि ठोस प्रस्ताव राख्न अहम् भूमिका खेल्ने हिमाचल प्रदेशको पालमपुर स्थित सीआईएसआर-हिमालय जैवस्रोत प्रौद्योगिकी संस्थानका युवा गोर्खा वैज्ञानिक डा. रक्षक कुमार आचार्यलाई म आभार व्यक्त गर्दछु। डा. आचार्यले दार्जीलिङ अनि कालेबुङ नगरपालिका निम्ति प्रस्ताव बुझाएका थिए, अनि दार्जीलिङ नगरपालिका परियोजनालाई २०२२-२३ को दौरान जारी प्रस्तावहरूका लागि प्रथम चरणको आह्वानमा मन्जुरी प्रदान गरिएको छ, तथा दोस्रो चरणमा कालेबुङ नगरपालिकालाई पनि सामेल गरिनेछl’ उनले विज्ञप्तिमा अझ यसो भनेका छन्, ‘हाम्रो दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्र भारतका सबैभन्दा सुन्दर क्षेत्रहरूमध्ये एक भएको हुँदा हाम्रो क्षेत्रलाई सफा र हरिलो-भरिलो राख्ने सामुहिक कर्तव्य हामी सबैको हुनजान्छ। तसर्थ, दार्जीलिङ अनि कालेबुङ नगरपालिका दुवैका अध्यक्षहरूले यस प्रस्तावको समर्थनमा सकारात्मक पाइला चाल्नुभएको निम्ति म आभार व्यक्त गर्दछुl’
यस परियोजनाअन्तर्गत शोधकर्ताहरूले फोहोर फ्याँक्ने स्थलहरूमा पुरातन फोहोरलाई अलग-अलग गर्ने, प्लास्टिक फोहोरको पुनर्चक्रीकरण गर्ने, निर्माण कार्य एवं काम नलाग्ने अवशिष्टहरूको प्रयोग गर्ने, पुरातन फोहोरबाट निस्कने द्रव्यको परिशोधन गर्ने जस्ता उन्नत प्रौद्योगिकीहरूद्वारा यान्त्रिकीकरण गर्न चाहन्छन्। छुट्ट्याइएका फोहोरलाई अगाडि परिशोधन गरिने छ र अर्गेनिक मलबाट भर्मिकम्पोस्ट, प्लास्टिक फोहोरबाट गमला आदिको निर्माण, तथा निर्माण कार्यबाट निस्केका अवशिष्टहरूलाई ईंटामा परिवर्तित गर्ने जस्ता विभिन्न उपयोगी वस्तुहरूमा परिणत गरिने छ।