खरसाङ: यहाँ नाला सफा गर्दै गरेका मानिसहरू कुनै विभागका कर्मचारीहरू होइनन्, गाउँकै सर्वसाधारणले बाध्य भएर नालाबाट फोहोर निकाल्ने कार्य गरेका हुन्l खरसाङ नगरपालिकाको वार्ड नम्बर आठको ककिना झोडामा निक्कै दिनदेखि फोहोरमैला जमा भएर पानी बग्न बन्द भएको छl दुई दिनअघि देखि पानी परेपछि सो फोहोरमैला बाटोमा थुप्रिएर मानिसहरूलाई हिड्न समस्या भएको थियोl डेजिस् स्कूलदेखि उकालो जाने सानो बाटोमा रहेको झोडामा धेरै दिनदेखि फोहोरमैला जम्मिएर नाला बन्द भए पनि त्यहाँ सफा गर्ने कार्य खासै भएको छैनl फोहोरमैला जम्मिएको हुनाले त्यहाँ नालाको मुनितिर खाल्डाहरू परेका छन्l

मनपरी पुराना जुत्ता-चप्पल, बोतलहरू, प्लास्टिकका सामग्रीहरू फालिने हुनाले गर्दा नाला बन्द हुने गर्दछl जब पानी पर्न शुरु हुन्छ, त्यति बेला सबै बगेर बाटोमा आउने हुनाले मानिसहरूलाई हिड्न समस्या हुन्छl अब यसलाई सफा गर्न विभागीय सक्रियताको आवश्यकता छ भने फोहोरमैला व्यवस्थापन बारे गाउँमै सर्वसाधारणलाई सहभागी बनाएर जनचेतनामूलक कार्यक्रम राख्न आवश्यक छl विभागले त आएर सफा गर्ला, तर फेरि जस्तोसुकै फोहोरमैला नालामा फाले उही समस्या उत्पन्न हुन्छl