दार्जिलिङ: कमानवासीले पाउँदै गरेको पट्टा सक्कली हो शरणार्थीलाई दिइने पट्टा होइन भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय सदस्य डीके प्रधानले बताएका छन्। उनले सिपिएम अनि जीएनएलएफले गर्नु नसकेको काम बीजीपीएमको अध्यक्ष अनित थापाले गर्न सफल भएका छन् र हामीले उनलाई बधाई दिनुपर्छ भनी बताएका छन्।
कानुनविद, अधिवक्ता साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय सदस्य डीके प्रधानले आज बिजनबारीमा आयोजित पार्टीको कर्मी सभामा पट्टा विषय बोल्दै भने “बंग भूमिमा पञ्जिकृत भएको पट्टा नक्कली होइन, सक्कली हो। यो अस्थायी पट्टा होइन स्थायी पट्टा हो।”
प्रधानले सबै कमानवासीले पट्टा स्वीकार गर्नुपर्छ भन्दै भने, “यो पट्टा थाप्नु होस्। अहिले घडेरीको पट्टा दिइएको छ। बिस्तारै कृषिबालीको पट्टा पनि पाउनुहुनेछ। यति नै हो तपाईहरुले आफ्नो जमीन हस्तान्तरण गर्नु सक्नुहुन्न।”
उनले १९५५ मा नै भूमि सुधार कानुन सरकारले पारित गरेको तर दार्जीलिङ पहाडमा यो कानुन १९८६ मा मात्र भित्रियो। उनले प्रश्न गरे भूमि सुधार कानुन ल्याए पनि कमानवासीले दखल गरेको जमीनको हक किन् पाएन?
उनले भने, “दार्जिलिङमा तीनवटा जमीनको सर्भे भयो। तीनवटै सर्भेमा कमानवासीको दखलमा भएको जमीन पसेन कारण सरकारले चाहेन। १९५५ सालमा पारित भएको कानुन दार्जीलिङमा ८६ मा मात्र लागू गर्यो। कानुन लागु हुनुदेखि रोक्ने सीपीएम नै थियो।”
उनले थप भने, “सीपीएम अनि जीएनएलएफले गर्नु नसकेको काम बीजीपीएमको अध्यक्ष अनित थापाले गर्न सफल भएका छन्। हामीले उनलाई बधाई दिनुपर्छ।”
पहाडमा विपक्षीले वर्तमान कमानवासीले पाएको पट्टा नक्कली, शरणार्थीलाई दिइने पट्टा हो भनेर अफवाह फैलाएको हो भन्दै उनले भने, “१९९२ मा जीएनएलएफले बाँडेको पट्टा अनि २०११ मा जीजेएमले बाँडेको पट्टा अनि अहिले बाँडेको पट्टा एउटै हो।”