कालचिनीः पीएफ रकम जमा नगरेको अनि रिटायर्ड श्रमिकहरूको पीएफ र ग्रेच्युटी आजसम्म नदिएको एवम् कमानको पुरानो मालिकको सट्टा नयाँ मालिकको दाबी गर्दै सोमबार बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधीनस्थ रहेको कालचिनी चियाबारीको श्रमिकहरूले बीडीओ कार्यालयमा आएर धरना प्रदर्शन शुरु गऱ्यो। काम बन्द राखेर कालचिनी चियाबारीको श्रमिकहरू अचानक कालचिनी बीडीओ कार्यालय आईपुग्दा बीडीओ कार्यालय परिसरमा उत्तेजना छाएको थियो। कमानका साधारण महिला अनि पुरुष श्रमिकहरूले वर्तमान कमान मालिकपक्षको विरोधमा नारा लगाउँदै बीडीओ समक्ष गुहार मागेको थियो। अन्ततः श्रमिकहरूको पक्षबाट बीडीओ समक्ष एउटा लिखित ज्ञापन पनि चढ़ाएको थियो भने बीडीओले यस विषयमा कुनै टिप्पणी गर्न नचाहेता पनि श्रमिकहरूलाई वेतन नियमित गराउन सम्बन्धित विभाग अनि मालिकपक्षसित कुरा गरेर समाधान गर्ने आश्वासन दिएका छन्।
यता श्रमिकहरूले आजसम्म कमानको मालिकले श्रमिकहरूको पीएफ रकम जमा नगरेको र बारम्बार आन्दोलन गर्दा पनि मालिकले कुनै मतलब नराखेको गुनासो गरेका छन्। यस सम्बन्धमा श्रमिक प्रतिनिधि तथा पश्चिम बंगाल चिया मजदूर समितिको कालचिनी ब्लक सभापति भुनु ग्वाला र महिला श्रमिक प्रतिनिधि लालो उराँवले कालचिनी चियाबारीको २००३ श्रमिक परिवारको भविष्यसित वर्तमान मालिकपक्षले खेला गरिरहेको र चुक्ति मुताबिक मालिकपक्षले श्रमिकहरूको प्राप्य अधिकारहरू प्रदान नगरेको अनि जीवनभरी दश नङ्ग्रा कमानमा खियाएर रगत पसिना सिँचेर कमाएको पीएफ र ग्रेच्युटी नदिएकोले नै अहिले श्रमिकहरू ट्रेड यूनियनको लगाम चुँड़ाएर यसरी पुलिस अनि ब्लक प्रशासनको दैलो ढकढक्याउन बाध्य भएको जनाएका छन्।
वर्तमान मालिकले सर्वोच्चले दिएको आदेश र लोक अदालतले दिएको निर्देशको पनि पालन नगरेको आरोप श्रमिकहरूले लगाएका छन्। अर्कोतिर कालचिनी चियाबारीको सिनियर म्यानेजर जीतु सैकियाले श्रमिकहरूको चित्कार जायज रहेको यद्यपि उनीहरूको समस्या समाधानको बाटो खोजी गर्न प्रबन्धनपक्ष पनि लागि परेको र जसरी हुन्छ श्रमिकहरूको हितमा काम गर्ने प्रयास चलाईरहेको बताएका छन्। यता वर्तमान मालिकसित क्रुद्ध भएका श्रमिकहरूले यो मालिकले कि त श्रमिकहरूको प्राप्य अधिकारहरू प्रदान गरोस कि चैँ प्रशासनले मालिक विरुद्ध उचित कार्रवाई गरोस भन्ने माग राखेका छन्। यदि यस्तै हो भने सबै श्रमिकहरू काम बन्द राख्न बाध्य हुनेछ भन्दै कुनै नराम्रो परिणाम भए यसको जिम्मेवार मालिकपक्ष रहने श्रमिकहरूले चेताउनी दिएका छन्।