खरसाङ: खरसाङ खण्डको घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे क्षेत्रका फोहोर मैलाहरू सही रूपमा प्रबन्धनको व्यवस्था गरिने मांगमा तीनधारेको विभिन्न संघ संस्थाहरूका पक्षबाट तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीलाई ज्ञापन पत्र बुझाइएको छ। विशेष गरी तीनधारे क्षेत्रमा फोहोर मैला सही रूपमा प्रबन्धन नभएकोले पैह्रो जाने गरेको छ। यसै कुरालाई मध्येनजर राखेर बिनयकुमार छेत्रीको अगुवाईमा तीनधारेको विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूले हस्ताक्षर गरेर फोहोर मैला प्रबन्धन गर्ने व्यवस्था सठीक रूपमा विभागीय रूपमा हुनुपर्छ भन्ने मांग उक्त ज्ञापनमा उल्लेख गरिएको छ। क्षेत्रीय सभासद नवराज छेत्रीलाई दिएको ज्ञापन पत्रको कपि खरसाङ खण्ड विकास अधिकारी र घैयाबारी ग्राम पञ्चायत दुईको सचिवलाई पनि पठाइएको जानकारी प्राप्त भएको छ। तीनधारे क्षेत्रको क्रिकेट बजार, राजबारी, शंकर निवास, गोलाई पाखा, १७ माइल, गैरी गाउँ, मिठाईडाँड़ा, चुनभट्टी आदि क्षेत्रहरूमा नालीहरू बन्द भएर मैला पानी सड़कतिर बग्ने गरेको र फोहोर मैलाहरू पनि सही रूपमा प्रबन्धनको व्यवस्था नहुँदा वर्षेनी तीनधारे क्षेत्रमा पैह्रो जाने गरेको कारणले वर्षा अघि नै तीनधारे क्षेत्रको नाला झोड़ाहरू सर सफाई गर्नु पर्ने र फोहोर मैलाहरू सही रूपमा व्यवस्थापन गरिनु पर्ने मांग रहेको छ। उक्त ज्ञापनपछि क्षेत्रीय सभासद नवराज छेत्रीको पहलमा तीनधारेको केही स्थानहरूको नाला झोड़ाहरू तत्कालै सर सफाई गरिएको जानकारी प्राप्त भएको छ। कतिपय स्थानतिर थुप्रेर बसेका फोहोर मैलाहरू तत्कालै सफा गरेर साथै ब्लक भएको नालाहरू खोल्ने कार्य गरिएको छ जसले गर्दा पैह्रोको खतरा कम गर्न सकियोस्।

उक्त ज्ञापनपछि पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारे क्षेत्रको फोहोर मैलाहरू सठीक रुपमा व्यवस्थापनको लागि आज आफुले तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरूले हस्ताक्षर गरेको ज्ञापन पत्र प्राप्त गरेको बताएका छन् । उनले यसको लागि विभागीय रूपमा पहल गर्दै आगामी वर्षाको समय अघि नै कार्य गर्ने वाचा दिएका छन्। सभासद छेत्रीले तीनधारे क्षेत्रको फोहोर मैलाहरू व्यवस्थापन गर्न र यहाँको नाला झोड़ाहरू सर सफाई गर्नलाई विभागीय रूपमा पहल गर्ने आश्वासन दिन्दै आजको ज्ञापनमा हस्ताक्षर गरेका संघ संस्थाहरूका प्रतिनिधिहरूलाई लिएर सचेतना शिविरको पनि आयोजना गरिने बताएका छन्। त्यसरी नै सम्पूर्ण तीनधारे क्षेत्रका संघ संस्थाहरूका पक्षबाट बिनयकुमार छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै सरकारको वेस्ट म्यानेजमेन्ट अन्तर्गत विभागीय रूपमा तीनधारे क्षेत्रका फोहोर मैलाहरू प्रबन्धन गर्नलाई क्षेत्रीय सभासद नवराज छेत्रीलाई ज्ञापन पत्र सुम्पेको र सभासदबाट तीनधारे क्षेत्रको फोहोर मैलाहरू सठीक रुपमा व्यवस्थापनको लागि पहल हुने आशा पनि गरेको बताएका छन्। उनले तीनधारे क्षेत्रमा वर्षेनी रूपमा पैह्रो जाने हुनाले वर्षाको समय हुन अघि नै तीनधारे क्षेत्रको नाला झोड़ाहरू सर सफाई गर्दै फोहोर मैलाहरू सही रूपमा व्यवस्थापन गरिनु आवश्यक देखिएको पनि बताएका छन्।