खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्ति खरसाड महकुमा समिति र टाउन कमिटीद्वारा खरसाङ बजारमा थुप्रेको मैलाहरू व्यवस्थापन गरिदिने मांगमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानलाई ज्ञापन पत्र बुझाएका छन्। विगत केही दिनदेखि खरसाड शहरमा कतिपय कुडादानीतिर मैला थुप्रेकोले जनमानसमा धेरै कठिनाईको सामना गर्न परिरहेको साथै बादर र कुकुरहरूले मैलालाई यत्र-तत्र छरिदिएर हिँडडूल गर्न कठिन भईरहेको विषय लिएर युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ र भागोप्रमो केन्द्रीय समिति सदस्य एंव पूर्व नगरपालिका चेयरम्यान समीरदीप ब्लोनको अगुवाईमा खरसाड नगराध्यक्ष ब्रिगेन गुरूङलाई उक्त ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझाएपछि युवा शक्तिको पदाधिकारीहरूले खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङसित उनकै च्याम्बरमा फोहोर मैलाहरू सही रूपमा व्यवस्थापन गरिनु पर्ने विषयमा चर्चा परिचर्चा पनि गरेका छन्।

यस विषयमा युवा शक्तिको टोलीलाई चेयरम्यान ब्रिगेन गुरुङले मैला फ्याँक्ने ठाउँ डम्पिङ ग्राउण्डमा आगो लागेको र स्थानीयहरू र कमानमा काम गर्ने श्रमिकहरूलाई धेरै असुविधा भईरहेको कारणले मैलाहरू फ्याँक्नलाई असुविधा भईरहेको जानकारी गराएका छन्। उक्त ज्ञापनपछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो युवा शक्तिको खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङले आज युवा शक्तिको टोलीद्वारा बजारमा मैलाहरू सही रूपमा व्यवस्थापन गर्नलाई नगरपालिका प्रशासनलाई ज्ञापन पत्र बुझाएको जानकारी गराएका छन्। अब भोलिदेखि नगरपालिकासितै युवा शक्तिको टोली पनि फोहोर मैलाहरू व्यवस्थापनको लागि अघि आउने बताएका छन्।