१९ मार्चः ब्राजील, लिभरपूल र लाजियोका पूर्व मीडफिल्डर ३६ वर्षीय लुकास लीवाले नियमित चिकित्सा परीक्षणहरूमा हृदयरोगको पत्तो लागेपछि शुक्रवार फूटबलबाट सन्न्यासको घोषणा गरे। उनले ब्राजीलको क्लब ग्रेमियोमा संवाददाता सम्मेलनमा यस्तो घोषणा गरे। उनले २००५-मा यसै क्लबको साथ आफ्नो करियरको शुरुवात गरेका थिए अनि अन्तमा यसै क्लबमा उनको फूटबल यात्रा समाप्त भयो। लीवाले २००७-देखि २०१७-सम्म लिभरपूलको प्रतिनिधित्व गरेका थिए अनि उनी २०१२-मा ईंग्लिश प्रीमियर लीग जित्ने टीमका हिस्सा थिए। उनी पछिबाट पाँच सीजनको निम्ति इटालियन क्लब लाजियोमा सामेल भए अनि २०१९-मा इटालियन कप जिते। रक्षात्मक मीडफिल्डर गत वर्ष ग्रेमियोमा फर्किएका थिए। उनले २००७-देखि २०१३-बीच ब्राजीलको राष्ट्रिय टीमबाट २४ वटा म्याच खेले। लीवाले संवाददाता सम्मेलनमा भने, मैले जहाँ चाहन्थे त्यही आफ्नो करियर समाप्त गरिरहेको छु। जे होस्, मैले करियरको अन्त यसरी हुनेछ भन्ने चाहिँ सोचेको थिइनँ। यस परिस्थितिलाई बद्लिने मैले सक्दो कोशिष गरे तर सोचे जस्तो हुन सकेन। मेरो निम्ति स्वास्थ्य पहिलो प्राथमिकता हो। ग्रेमियोका डाक्टर मर्सियो डोर्नेल्सले बताएअनुसार, तीन महिना अघि पहिलो रिपोर्ट आएपछि लीवाले क्लबमा काम गर्न बन्द गरेका थिए। हालको परीक्षणहरूमा उनको स्थितिमा कुनै सुधार देखिएन।