पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको लाहोरको जमान पार्कमा रहेको घरबाहिर पुलिसले कारबाही जारी राखेको छ। घरबाहिर ठूलो सङ्ख्यामा पुलिस तैनाथ गरिएको छ भने घटनास्थलमा बुलडोजर पनि ल्याइएको छ। बीबीसीका अनुसार पुलिसले इमरान खानको घरको दैलो भत्काएर भित्र पसेको छ। जियो न्यूजसँग कुरा गर्दै पुलिस अधिकारीले इमरान खानको घरभित्र पस्ने क्रममा भित्रबाट गोली चलेको र पुलिसलाई निशाना बनाइएको बताए। घरभित्र उपस्थित कार्यकर्तासँग हतियार रहेको पुलिसले जनाएको छ। यसै क्रममा इमरान खानले इस्लामाबादको अदालत तर्फ जाँदा आफ्नो लश्करसँग दुर्घटना भएको बताएका छन्। आफू पक्रा पर्ने थाहा पाए पनि अदालतमा हाजिर हुन लागेको उनले दाबी गरे। तोशखाना मुद्दामा इमरान खान आज अदालतमा हाजिर हुनुपर्नेछ।