कालचिनीः डुवर्सको गाउँघरबाट धेरै युवा युवतीहरू पलायन हुने क्रम जारी छ। काम मामको खोजीमा घरबाट राज्य बाहिर पैसा कमाउने सपना साँचेर निस्केका युवा युवतीहरू सबैले पैसा कमाएर घर फर्किन्छ भन्ने कुराको पनि कुनै ग्यारन्टी छैन। यस्तै डुवर्सको कालचिनी थाना अन्तर्गत पर्ने राजाभातखावा बामनी झोड़ा बस्ती निवासी युवक अमर छेत्री मुम्बई काम गर्न गएको थियो। तर काम गर्न गएको भाईको शव रेलवे लीकमा भेटाईएको खबरले दाजु नवराज छेत्री र पिता साने छेत्रीको अवस्था बड़ो दयनीय बनेको छ। शुक्रबार राती मात्र दाजु नवराज छेत्रीलाई मुम्बई पुलिसले फोन मार्फत भाई अमर छेत्रीको शव मुम्बई र गोवाबीचको राजपुर भन्ने ठाउँको रेलवे लीक नजीक भेटाईएको र शवको गोजीबाट भाई अमर छेत्रीको आधारकार्ड, पेनकार्ड, मोबाइल फोन बरामद भएको बताईएको थियो।
शव प्रायः सड़दै गईरहेको र शीघ्रै शवको परिचय गर्न राजपुर आउन मुम्बई पुलिसले फोन मार्फत जनाएको मृतकको दाजु नवराज छेत्रीले जनाएका छन्। तर अहिले नै भाईको शव ल्याउन असम्भव भईरहेको र आफूसित त्यति टाढ़ा जान खर्च पनि नभईरहेको विवश दाजु नवराज छेत्रीले बताएका छन्। गत ६ महीना अघि मात्र काम गर्न मुम्बई गएको भाई बीचमा घर आएर फेरि गएको थियो तर गत डेढ़ महीनादेखि भाईसित कुनै सम्पर्क थिएन र यसरी शुक्रबार रातीमात्र मुम्बई पुलिसले भाईको फोन, आधारकार्ड पेन कार्ड भेटाएकोले कल गरेर घटनाको जानकारी दिएकोले बाबा र आफू बड़ो वेदनामा परेको मृतकको दाजु नवराज छेत्रीले बताएका छन्। कसरी भाईको मृत्यु भयो सो बारे केही जानकारी नभएको र मुम्बई पुलिसले शव सड़न लागेको र छिट्टो आएर शनाखत गर्ने निवेदन गरिरहेको नवराज छेत्रीले जनाएका छन्। मृतकको वृद्धा पिता साने छेत्रीले काम गर्न गएको छोराको लाश भेटाएको खबरले सपना जस्तो लागिरहेको र अब लाशलाई घर ल्याउने क्षमता आफूसित नरहेको विवशता पोखेका छन्। स्थानीय समाजसेवी गोपाल छेत्रीले घटना सुनेर धेरै दुःख लागेको र विचरा मृतकको परिवारमा केवल बाउ छोरा मात्र घरमा रहेको जनाएका छन्।