कालचिनीः बनाधिकार र ग्राम सभाको संरक्षणलाई समेटेर शनिबार डुवर्सको राजाभातखावा स्थित गारो बस्तीमा उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको छैटौँ सम्मेलन सम्पन्न भयो। उत्तरबंगालको ५ वटा जिल्लाहरूबाट आएका बनबस्ती प्रतिनिधिहरूको सहभागितामा उक्त सम्मेलन भव्यरुपमा सफल भएको मञ्चको कन्भेनर लालसिंह भुजेलले दाबी गरेका छन्। सम्मेलनको मुख्य अतिथिको रुपमा हिमालयन फरेस्ट भिलेजर्स आर्गनाइजेशनका महासचिव लिला गुरुङ लगायत उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको सुत्रधर सौमित्र घोष, राजाभावाका समाजसेवी दुर्गा चामलिङ, सुन्तलाबारीका समाजसेवी अरुण कुमार राई एवम् अन्यान्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बनाधिकार र फरेस्ट राइट्स एक्ट अन्तर्गत ग्राम सभाको महत्व र शक्तिलाई लागु गरिनु पर्ने र बनबस्ती बासिन्दाहरूको अधिकार एवम् रेभेन्यु भिलेजको काम शीघ्र सम्पन्न गरिनु पर्ने र बनबस्ती बासिन्दाहरूलाई जमीनको पट्टा र खतियान बासिन्दाहरूको नाममा नै दिनुपर्ने आदि दाबीलाई प्रस्तावमा लिएको लालसिंह भुजेलले जनाएका छन्।
पञ्चायत चुनाउ नजिकिन्दै गईरहेको छ यसैले नेताहरूले ग्राम सभाको दाबीलाई मानेर मात्र भोट माग्ने आँट गर्ने वार्ता दिँदै पहिला ग्राम सभा अनि मात्र भोट सभाको प्रस्ताव लिएर सम्मेलन समापन गरिएको सौमित्र घोष र लालसिंह भुजेलले प्रेसवार्तामा जनाएका छन्। बारम्बार बनबस्ती बासिन्दाहरूलाई बन विभागले आफ्नो कानुन बनाएर लागु गर्ने प्रयासको विरोध उत्तरबंगाल बन जन श्रमजीवी मञ्चले गर्दै आईरहेको र हालै मात्र बनबस्ती बासिन्दाहरूलाई दिएको पट्टा र खतियानमा जमीनको मालिक बन विभाग बाउको नाम पश्चिम बंगाल सरकार भनेर कागज प्रदान गरीएको छ यसको आफूहरू घोर विरोधमा रहेको र यसलाई सुधार गर्न आगामी महीनाभित्रै अलिपुरद्वार जिल्ला शासक समक्ष धरना बस्ने पनि प्रस्ताव लिएको बताईएको छ। सम्मेलनले उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको नयाँ कमिटी गठन गरेको र पुनः मञ्चको कन्भेनरमा लालसिंह भुजेललाई नै चयनित गरेको छ।