दार्जिलिङ: संगठन सशक्तीकरणबारे भाजपाको एउटा सभा प्रमोद राईको सभापतित्वमा दार्जिलिङ जिल्ला अन्तर्गत मेरिबुङको राई गाउँमा सम्पन्न भयो। सभामा मेरिबुङ चुङथुङ तामासाङ मण्डलभित्रको मेम कमान, तामसाङ, लिङगे, मेरिबुङ, सालु, चुङथुङ र लिजाहिल कमानका व्यापक भाजपा प्रतिनिधि कार्यकर्ताहरु उपस्थित थिए। सभामा नै सालु कमानबाट ७ जना, मेम कमानबाट ६ जना, पेम्बोङबाट ५ जना र तामसाङ मोटाधुरा ५ बाट भाजपामा सामेल भए। उनीहरुलाई जिल्ला सभापति कल्याण देवानले झण्डा दिएर भाजपामा सामेल गराएका छन्।
बुथ सशक्तीकरणबारे बोल्दै महासचिव सुजेन्द्र राईले चुङथुङ मेरिबुङ मण्डलभित्रको २० वटै मण्डल सशक्त बनाउन हेतु केन्द्रीय समिति अनि राज्य समितिको निर्देशिकाबारे अवगत गराए। सभामा जिल्ला सभापति अनि उपाध्यक्ष एवं जिल्ला प्रवक्ता एलएम लामाले वर्तमान पहाड अनि राज्यको राजनैतिक स्थितिबारे अवगत गराउँदै वक्तव्य राख्ने क्रममा भने – जीटीए भ्रष्टाचारीहरुका अड्डा बनेको छ। कुनै विभाग यस्तो छैन कि जहाँ भ्रष्टाचार भएको छैन। सय दिने काम शुरु होस भन्ने हामी चाहन्छौ। तर पश्चिम बंगालमा १ करोड १८ लाख अनि दार्जीलिङ पहाडमा मात्रै १ लाख ७१ हजार ९२५ जाली जब कार्ड बनाएको रिपोर्ट उदाङ्गो भएको छ। सरकार नै दंग परेको छ। घर घर जल भनेर केन्द्रीय कारणले जल जीवन मिसन योजना शुरु गरेर करोडौं रुपियाँ अनुमोदन गरेको छ। तर पहाडमा भइरहेको जल जीवन मिसन योजनामा व्यापक धाँधली र भ्रष्टाचार भइरहेको छ। जीटीए मार्फत यसमा कमिसन राज चलिरहेको छ। यो जनताको निम्ति स्वीकार भएको योजना हो। यसकारण भ्रष्टाचार लिप्त सबैलाई पक्राउ गरेर जनताको पैसा वापस दिलाउनुपर्छ। जनता सचेत बन्नुपर्छ।’

उनले अझ भने, पहाडमा पर्जा पट्टा विषयमा जनताको आँखामा धुलो हाल्ने षड्यन्त्र हुँदैछ। यो शरणार्थी पट्टा हो।तर हामी शरणार्थी होइनौं।’

वक्तव्यको क्रममा वक्ताहरूले भने – पहाडका योग्य र शिक्षित युवाहरुलाई फेरि भोलिन्टियर शिक्षक बनाउने भनेर सूचना निकालेको छ। हाम्रो माग छ-अहिलेसम्म विद्यालयहरुमा १०/१२ वर्षभन्दा अघिदेखि भोलिन्टियर शिक्षक शिक्षिका भएर पसिना बगाउनेहरुलाई पहिला स्थायी बनाउँ। हामी भन्छौं। सरकारलाई भन। सरकारलाई किन भन्दैनौं? फेरि स्वंयसेवी शिक्षक लिने भएको सरकारको नोटिफिकेशन जनतालाई देखाउ। त्यो नोटिफिकेशन कहाँ छ? पञ्चायत चुनावको बेला, सबै मुद्दामा विफल बनेपछि जिटीएमा बसेका प्रजातान्त्रिक मोर्चाका नेतृत्वहरु फेरि जनताको आँखा छल्ने दुस्साहस गर्न थालेका छन्। तर जनता धेरै सचेत भइसकेका छन्।’ वक्ताहरूले भाजपा अब पहाडको पहिलो दल बन्ने कुरामा जनता विश्वास गर्दै सामेल भइरहेको अहिलेको स्थितिमा सबै सक्रिय बन्ने अपील पनि गरेका छन्। सभामा जिल्ला सदस्य राममणि जोशी, मण्डल महासचिव विधान राई,रबी थापा, उपाध्यक्ष बिरेन्द्र तामाङ, डन गुरुङ, युवा मोर्चा अध्यक्ष अशेष राई लगायतका नेताहरु विशेषरुपमा उपस्थित थिए।