गान्तोकः गोविन्द बल्लभ पन्त राष्ट्रिय हिमालयी पर्यावरण संस्थानको सिक्किम क्षेत्रीय केन्द्र गान्तोक, असम विश्वविद्यालय, त्रिपुरा विश्वविद्यालय एवं विज्ञान अनि प्रौद्यागिकी विभाग, सिक्किम सरकारको संयुक्त तत्वावधानमा हिजोदेखि हिमालय कल्स फर् एक्सन स्कोपिङ रिजनल कोअपरेशन एण्ड नलेज नेटवर्किङमाथि आयोजित तीन दिवसीय कार्यशाला शुरू भयो। यस तीन दिवसीय कार्यशालाको आज दोस्रो दिन उद्घाटन सत्रमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मुख्य अतिथिको रूपमा उपस्थित रहे। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले हिमालयको महत्वमाथि प्रकाश पारे भने हिमालय केवल सुन्दर निर्जीव पर्वतमाला मात्र नभएर यसले पर्यावरणको संरक्षणमा अहंम भूमिका निर्वाह गरिरहेको बताए। अति संवेदनशील मानिने भारतीय हिमालय क्षेत्र कतिपय पर्यावरणीय मोर्चामा संघर्ष गरिरहेको जानकारी गराए। यसको निम्ति दीर्घकालिन संरक्षण अनि सतत बिकासको नयाँ मापदण्ड विकसित गर्नु पर्ने आवश्यकता रहेको राज्यपालले बताए।
राज्यपालले सिक्किम क्षेत्रीय केन्द्रद्वारा विकसित आर्किडेरियमको पनि उद्घाटन गरे। यस आर्किडेरियममा सिक्किम हिमालय क्षेत्रमा पाइने ११५ प्रजातिको अर्किडको संरक्षण गरिएको छ। यो संग्रहणले सिक्किम राज्यमा उपलब्ध अर्किड विविधताको १८ प्रतिशतलाई नेतृत्व गर्दछ। यो अर्किडको प्रजातिमाथि भविष्यमा शोध कार्य अनि विभिन्न हितधारकहरूको निम्ति प्रदर्शन गर्नका लागि उपलब्ध रहनेछ। राज्यपालले बताए अनुसार, हिमालय सुरक्षित रहे मात्र भावी पीढिको भविष्य सुरक्षित रहनेछ। भारतीय हिमालय क्षेत्रमा बसोबासो गर्ने मानिसहरूको कल्याण हेतु ज्ञान प्रलेखन, निर्माण प्रसारलाई साँझा गरेर प्रभावी ढङ्गमा समग्ररूपमा रणनीति बनाउन आवश्यक रहेको उनले जानकारी गराए। यस क्षेत्रको प्राथमिकतालाई पुनः परिभाषित गर्नको निम्ति वर्तमान संस्थान, नीति निर्माता अनि विशेषतज्ञहरूबीच सहयोग साथै नेटवर्किङलाई बढावा दिन आवश्यक रहेको उनले थप बताए। यस उद्घाटन कार्यक्रममा राज्यपालले संस्थानद्वारा प्रकाशित पुस्तक “इनोवेटिभ इन्भेन्सन एण्ड इन्सपायरिङ स्टोरीस फ्रम कञ्चनजङ्गा ल्याण्डस्केप” को विमोचन गरे।