वाराणसी: काशी भ्रमणमा रहनुभएका जातीय उपरकण सङ्ग्रहकर्ता सूर्यमणि प्रधानलाई काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागमा अभिनन्दन ज्ञापन गरिएको छ। विगत चालीस वर्षभन्दा धेर अवधि नेपाली जातिका वाद्ययन्त्र, गरगहना, पहिरन, वर्तन आदि उपकरणको सङ्ग्रह गर्नमा लागेर दार्जीलिङको हरिदास हट्टास्थित निजी आवासमा प्रदर्शन कक्ष पनि बनाएका सूर्यमणि वृत्तिले सन्त पल्स स्कूलका अवकाशप्राप्त शिक्षक हुन्। प्रान्तीय र स्थानीय सञ्चार माध्यमहरूले उनलाई प्रकाशमा ल्याएपछि जनगण उनीसित परिचित बनिरहेका छन्।
भाभावि-का अध्यक्ष प्रो. दिवाकर प्रधानको अध्यक्षतामा भएको अभिनन्दन सभामा सूर्यमणिले आफ्नो रुचिले थुपार्दै गएको जातीय उपकरण जातीय चिनारीका लागि भविष्यमा उपयोगी हुने सम्भावना व्यक्त गरे। विकासको नाममा भुल्दैगएका जातीय उपकरणले जातीय समाज र संस्कृतिको विगतलाई रक्षित गरेको कुरा प्रधानले गरे। परीक्षाकाल हुनाले सीमित विद्यार्थी सभासद् रहे पनि शोधार्थी र शिक्षकहरूले उनका कुरा ध्यानपूर्वक सुनेर सन्तुष्ट बने। डा. जगदीशन, डा. विघ्नेश र डा. अमित थापाले काशी हिन्दू विश्वविद्यालयको स्मृति चिह्नले उहाँलाई अभिनन्दन गरेपछि सभा शेष भयो।