सोनादा: भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार एवं शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालयका भूतपूर्व प्रधान अध्यापक उदय सुब्बा “गोर्खा “को आज दुःखद निधन भएको छ। सोनादा निवासी वरिष्ठ साहित्यकार उदय सुब्बा ‘गोर्खा’ को निधन आज बिहान १०:३५ तिर ७६ वर्षको उमेरमा सुकना अस्पतालमा उपचाराधीन अवस्थामा निधन भएको छ। उनी मुटु सम्बन्धित रोगले पीढीत थिए। उनले आफुपछि पत्नी, एक छोरा, बुहारी, तीन छोरीहरू र नाता नातिनीहरू छोड़ी गएका छन्। उनको पार्थिव शरीर सुकनाबाट आज बेलुकासम्म सोनादास्थित आफ्नो वासस्थानमा ल्याइने जानकारी प्राप्त भएको छ। वरिष्ठ साहित्यकार उदय सुब्बा ‘गोर्खा’ विभिन्न संघ संस्थाहरूसित संलग्न रहेका थिए। भारती नेपाली साहित्यका वरिष्ठ कथाकार उदय सुब्बा गोर्खाको असामयिक देहावसानले भारतीय नेपाली साहित्य र समाजमा ठूलो क्षति भएको छ। १६ जुन १९४७ मा जोरबङ्गलोमा जन्मिएका सुब्बाले ४१ वर्षसम्म शिक्षकको रूपमा सेवारत रहे भने शान्तिरानी उच्चत्तर विद्यालयका पूर्व प्रधान अध्यापक पनि भए। सन् १९७२ सालमा अभियान पत्रिकाको सम्पादक रहेर साहित्यमा प्रवेश गर्ने सुब्बाका कृतिहरूमा ‘नयाँ बिहानको सूर्य’ (उपन्यास -१९८५, ‘नयाँसाल अनि यहाँ जैमतिका सपनाहरू (कथासङ्ग्रह)-२००९,
‘कथा गाउँ घरका (कथासङ्ग्रह)-२०१२,
मनबहादुर गुरुङ (मोनोग्राफ)-२०१९, बदनाम कविता (कविता सङ्ग्रह)-२०२२ आदि प्रकाशित छन्।
विशेष कथाकारका रूपमा परिचित, स्थापित अनि प्रतिष्ठित सुब्बाका कविता पनि घतपर्दा अनि पठनीय छन्। उनले थुप्रै पत्र पत्रिका अनि स्मृतिग्रन्थ, अभिनन्दन ग्रन्थ पनि सम्पादन गरेका छन्।