गान्तोक: भारतको जी२० अध्यक्षताअन्तर्गत बी२० सम्मेलन आज सिक्किमको राजधानी गान्तोकमा ‘पर्यटन, आतिथ्य, औषधि तथा जैविक खेती’ विषयका साथ शुरु भयो। कार्यक्रममा सिक्किमका मुख्यमन्त्री पी एस तामाङ गोले, सिक्किमका मुख्य सचिव वी बी पाठक, डीपीआईआईटी, भारत सरकारकी प्रमुख सल्लाहकार सुश्री रूपा दत्त, आशिष कुमार सिन्हा, संयुक्त सचिव (जी२०), जी२० सचिवालय,भारत सरकार, नूर रहमान शेख, संयुक्त सचिव (आर्थिक कूटनीति), विदेश मामिला मन्त्रालय, भारत सरकार, डा. चिन्तन वैष्णव, मिशन निर्देशक, अटल नवाचार मिशन तथा अतिरिक्त सचिव, नीति आयोग, भारत सरकार र सुश्री नम्रता थापा, सचिव, सूचना तथा जनसम्पर्क विभाग, सिक्किम सरकारको उपस्थिति रहेको थियो।
मुख्य अतिथिको रूपमा आफ्नो मुख्य भाषणमा सिक्किमका मुख्यमन्त्री तामाङले राज्यहरूबीच ७१ अङ्कको उच्च एसडीजी सूचकाङ्कका साथ तथा समर्थक नीतिहरूको माध्यमले स्थायी आजीविका सिर्जना गर्नमा सफल भएको विषयमा प्रकाश पारे। मुख्यमन्त्रीले सिक्किमलाई देशको पहिलो जैविक राज्यको रूपमा मान्यता प्राप्त भएको र विश्व समुदायलाई लाभान्वित गर्न सक्ने पर्यटन सम्भावना रहेको बताए। सिक्किम सरकारका मुख्य सचिव वी बी पाठकले जैविक खेती, पर्यटन, औषधि र आतिथ्य सत्कारका क्षेत्रमा सिक्किमको सम्भाव्यतालाई रेखाङ्कित गरे। राज्यले जैविक खेतीमा निजी कम्पनीसँग संयुक्त लगानी गरेको उल्लेख गर्दै मुख्य सचिवले पर्यटकलाई विशेष गरी पर्यावरण र साहसिक पर्यटनमा आकर्षित गर्न राज्यले पर्यटनमा लगानीमैत्री नीति अपनाएको बताए।
उद्घाटन सत्रलाई पर्यटन, आतिथ्य, जैविक खेती र औषधिमा बहुपक्षीय व्यापार साझेदारीका अवसरहरूको खोजी गर्ने पूर्ण सत्रका रूपमा अगाडि बढ़ाइएको थियो। सिक्किम सरकार, विदेश मन्त्रालय र डीपीआईआईटीसँगको सहकार्यमा यो पहलमा भारतीय उद्योग परिसङ्घ (सीआईआई) साझेदार छन्। ५३ विदेशी सहभागीसहित २२ देशका प्रतिनिधिहरू सम्मेलनका लागि सिक्किममा भेला भएका छन्, जसमा १०० भन्दा बढी भारतीय प्रतिनिधिहरू पनि समावेश छन्। उनीहरूलाई भोलि सिक्किमको सबैभन्दा ठूलो रूम्तेक गुम्बामा लगिनेछ र त्यहाँको समृद्ध सांस्कृतिक सम्पदा प्रदर्शन गरिनेछ। डा. चिन्तन वैष्णव, मिशन निर्देशक, अटल नवाचार मिशन तथा नीति आयोगका अतिरिक्त सचिव, सुश्री रूपा दत्त, प्रमुख आर्थिक सल्लाहकार, उद्योग र आन्तरिक व्यापार प्रवर्द्धन विभाग, आशिष कुमार सिन्हा, संयुक्त सचिव (जी२०), जी२० सचिवालय, भारत सरकार, नूर रहमान शेख, संयुक्त सचिव (आर्थिक कूटनीति), विदेश मामिला मन्त्रालय, श्रीमती नम्रता थापा, सचिव, आईपीआर विभाग, सिक्किम, प्रदीप पुरोहित, सदस्य, सीआईआई उत्तर पूर्व परिषद् र अन्य प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए।

बी२० र जी२० बारेमा:
जी२० ले विश्वका प्रमुख तथा प्रणालीगत रूपमा महत्त्वपूर्ण अर्थतन्त्रलाई एकसाथ ल्याउँछ, जसका सदस्यहरूले विश्वव्यापी जीडीपीको ८५% र अन्तर्राष्ट्रिय व्यापारको ७५% प्रतिनिधित्व गर्दछन्। भारतको जी२० अध्यक्षताले देशलाई दबावपूर्ण विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्ने अवसर प्रदान गर्दछ र विश्वव्यापी मञ्चमा भारतको नेतृत्व प्रदर्शन गर्न र महत्त्वपूर्ण मुद्दाहरूमा अन्तर्राष्ट्रिय एजेण्डालाई आकार दिन मञ्च प्रदान गर्दछ। बिजनेश२० (बी२०) विश्वव्यापी व्यापार समुदायको प्रतिनिधित्व गर्ने विभिन्न कम्पनी र व्यापारिक फोरमहरूसँग सम्बन्धित समूहहरूमध्ये सबैभन्दा प्रमुख हो। यसले आर्थिक वृद्धि र विकासलाई प्रोत्साहन गर्न प्रत्येक चक्रीय अध्यक्षताद्वारा प्राथमिकताहरूमा ठोस कार्ययोग्य नीति सिफारिश प्रदान गर्ने लक्ष्य राख्दछ।

भारतको जी२० अध्यक्षताले देशलाई यस क्षेत्रमा आफ्ना उपलब्धि र अवसरहरू प्रदर्शन गर्न र निजी तथा व्यक्तिगत क्षेत्रका प्रतिनिधिहरूसँग यसको वृद्धि सम्भावना अगाडि बढाउनका लागि उत्कृष्ट अवसर प्रदान गर्दछ। यस सन्दर्भमा, १५ देखि १७ मार्च २०२३ सम्म सिक्किमको गान्तोकमा पर्यटन, आतिथ्य, औषधि र जैविक खेतीमा बहुपक्षीय व्यापार साझेदारीका लागि अवसरहरूमा बी२० सम्मेलन सरकारको महत्त्वपूर्ण कदम हो। भारतको उत्तरपूर्वी क्षेत्र, विशेष गरी सिक्किम अभूतपूर्व प्राकृतिक सुन्दरता र विविध सांस्कृतिक सम्पदाले परिपूर्ण राज्य हो। यस क्षेत्रमा हरिया पहाड, झरना, खहरे नदी र विचित्रका वन्यजन्तुहरू छन्। यो प्राकृतिक सुन्दरता, सांस्कृतिक समृद्धि, साहसिक र आध्यात्मिकताको उत्तम मिश्रण हो। विश्वभरिका पर्यटकहरू भारतको परम्परा र अविश्वसनीय सांस्कृतिक सम्पदाको साक्षी हुन भारत भ्रमण गर्दै आएका छन्, जसले भारतीय पर्यटन क्षेत्रको लागि आधार तयार पारेको छ भने जीडीपीमा लगभग ५ प्रतिशत योगदान पुर्याएको छ। कोभिड-१९ महामारीपछि भारतले पर्यटन प्रवर्द्धन गर्न धेरै सुधार लागू गरेको छ, जसले यो क्षेत्रलाई उल्लेखनीय रूपमा बढाएको छ।

जैविक खेती
सिक्किम विश्वको पहिलो जैविक राज्य हो, जसलाई १०० प्रतिशत जैविक रूपमा प्रमाणित गरिएको छ। जैविक खेती एक प्रकारको कृषि उत्पादन हो, जसले सिन्थेटिक मल, कीटनाशक र आनुवांशिक रूपमा परिमार्जित जीवहरू (जीएमओ) रहित बाली तथा पशुधन उत्पादन गर्न प्राकृतिक इनपुट र अभ्यासहरूको प्रयोगलाई जोड़ दिन्छ। यसले स्वस्थ माटो, जैविक विविधता र पारिस्थितिकी प्रणालीको खेती र रखरखाउमा ध्यान केन्द्रित गर्दछ। सिक्किमले ७५ हजार हेक्टर खेतीयोग्य जमिनलाई प्रमाणित जैविक भूमिमा रूपान्तरण गरेर सय प्रतिशत जैविक राज्य बन्ने अविश्वसनीय माइलखुट्टी हासिल गरेको छ। यसले सिक्किममा २२ लाख हेक्टरभन्दा बढी उत्पादन रेकर्ड गरेर खेतीको दायरा पनि विस्तार गरेको छ।
विश्वव्यापी रूपमा रासायनिक विषाक्तताका घटनाहरूको बढ्दो सङ्ख्याका कारण बढ्दो स्वास्थ्य चिन्ताले जैविक खाद्य बजारमा चालकको रूपमा काम गरिरहेको छ। भारतका विभिन्न कृषि हावापानीका कारण सबै किसिमका जैविक उत्पाद उत्पादन गर्ने प्रशस्त सम्भावनाहरू छन्। देशका धेरै भागहरूमा जैविक खेतीको वंशानुगत परम्परा थप फाइदा हो। यसले जैविक उत्पादकहरूको लागि बजार दोहन गर्ने वाचा गर्दछ, जुन घरेलु तथा निर्यात क्षेत्रमा स्थिर रूपमा बढिरहेको छ। उपलब्ध २०२१ को तथ्याङ्कअनुसार विश्वको जैविक कृषि भूमिको हिसाबले भारत पाँचौँ तथा कुल उत्पादकहरूको सङ्ख्यामा पहिलो स्थानमा छ। सिक्किमलाई वर्ल्ड बुक अफ् रेकर्ड्स लण्डनले विश्वको पहिलो जैविक राज्य भनेर मान्यता दिएको छ।
औषधि
भारतले कोभिड-१९ महामारीको समयमा औषधि क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। विश्वभरि औषधि उत्पादनको तेस्रो ठूलो निर्यातक भएकोले भारतले आफैलाई औषधि उद्योगको लागि फस्टाउँदै गरेको बजारको रूपमा स्थापित गरेको छ। सिक्किममा कर प्रोत्साहन, कम उत्पादन र श्रम लागत र प्रदूषणमुक्त वातावरण फार्मा कम्पनीहरूलाई आकर्षित गर्ने प्रमुख कारकहरू साबित भएका छन्।
पर्यटन र आतिथ्य
सिक्किमको पर्यटन तथा आतिथ्य क्षेत्र अवसरहरूले भरिएको बजार हो। स्थानीय व्यञ्जन, हस्तशिल्प र सांस्कृतिक अनुभव पर्यटकहरूको लागि शीर्ष आकर्षण भएका छन्। यसबाहेक, स्थानीय पूर्वाधार सुधार गर्न र यस क्षेत्रमा आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा थप कनेक्टिभिटी सिर्जना गर्न केन्द्र सरकारको प्रयासले यस क्षेत्रलाई बढावा दिनेछ। केन्द्रीय बजेट २०२२-२३ को नयाँ योजना जसलाई २०२२-२३ देखि २०२५-२६ सम्म ६६०० करोड़ रुपियाँको बजेट आवन्टनका साथ पूर्वोत्तर क्षेत्रका लागि प्रधानमन्त्री विकास पहल (पीएम-डिवाइन) भनिएको छ। यसको उद्देश्य उत्तरपूर्व क्षेत्रमा बुनियादी ढाँचाको विकासमा तीव्रता ल्याउनु र क्षेत्रमा आर्थिक विकासलाई प्रोत्साहित गर्नु रहेको छ।
सम्मेलनले सिक्किमका प्रमुख क्षेत्रहरूमा बी२बी र बी२जी संवादलाई सहज बनाउनेछ। भारतको जी२० अध्यक्षताको एक भागको रूपमा सिक्किममा बी२० सम्बद्ध समूह सम्मेलनले जी२० सदस्य देशहरूका व्यापारिक समुदायबीचको साझेदारीलाई विकास चालकको रूपमा अर्थव्यवस्थाको महत्त्वपूर्ण क्षेत्रहरूको विकासको लागि साझा एजेण्डा विकास गर्न टेवा पुर्याउनेछ। -पीआईबी










