खरसाङ: खरसाङको गिध्द पहाड़स्थित जीटीएको सचिवालयमा हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीसित केही फूल खेतीसित सम्बन्धित विभिन्न समस्याहरूलाई लिएर कृषकहरूले भेटघाट गरेका छन्। रंगमुक, सिडर्स अनि मुण्डा क्षेत्रबाट फूल खेती गर्ने कृषकहरूको एक टोलीले बागवाणी विभागीय एमओडी सभासद प्रणाम रसाईलीलाई गिद्धे पहाडस्थित उनको कार्यालयमा सौहार्दपूर्ण भेटघाट गरेर फूल खेतीमा विभागीय सहयोगको लागि भेटघाट गरेका छन्। यस भेटघाट कार्यक्रममा भागोप्रमो खरसाङ टाउन कमिटीको सह सचिव बिरबल पाख्रीन पनि उपस्थित थिए।प्रतिनिधि टोलीले फूल खेती गर्दा भोग्नु परेको समस्याहरू विषयमा सभासदलाई अवगत गराएका थिए साथै अर्थ उपार्जनको मार्गमा पनि विभागीय सहायता गरिदिने अनुरोध राखेका छन्। वर्षौंदेखि बाँसको कटेरो बनाएर फूल खेती गर्दा धेरै समस्याहरू भोग्नु परेको कुरा कृषकहरूले सभासद समक्ष राखेका छन्। कृषकहरूको पक्षमा एकजनाले पत्रकारहरूसित कुराकानी गर्दै भने, हामीले धेरै लामो समयदेखि फूलको खेती गर्दै आईरहेका छौं। तर अहिलेसम्म विभागीय रुपमा कुनै सहुलियतहरू पाउन नसकेको कारणले यस विषयमा विभागीय एमओडी सभासद प्रणाम रसाईलीलाई भेट गर्न आएको बताएका छन्। उक्त टोलीले विशेष गरी फूल खेती विषयमा उच्च स्तरीय ट्रेनिङको मांग राख्दै उन्नत प्रजातिको फूलको बिजनहरू उपलब्ध गराई दिने अनुरोध गरेका छन्।

उक्त भेटपछि आफ्नो कार्यालयमा पत्रकारहरूसित कुराकानी गर्दै हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले जीटीए अन्तर्गत हर्टिकल्चर विभागको तर्फबाट आरआर खण्ड र खरसाङ खण्डको लागि ३२२ वटा पोली हाउसहरू वितरण गरिने भएको जानकारी गराएका छन्। उनले आरआर खण्ड, खरसाङ खण्ड र मिरिक खण्डको लागि अर्किडको फूल खेती गर्नेहरू १०० जनालाई विरूवाहरू वितरण गर्ने अनि १००० जनालाई किचन गार्डनरो सामाग्रीहरू वितरण गरिने पनि बताएका छन्। सभासद प्रणाम रसाइलीले आज भेट्न आएका फूल खेती गर्ने कृषकहरूका लागि आगामी २८ र २९ मार्चको दिन अप्पर सिडर्समा फूल खेतीमाथि दुई दिने प्रशिक्षण शिविर आयोजना गर्ने वचन पनि दिएका छन्।









