रिषभ पन्तको स्थानमा दिल्ली क्यापिटल्सका कप्तान हुनेछन् डेविड वार्नर

IMG-20230316-WA0090.jpg

१६ मार्चः चोटग्रस्त रिषभ पन्तको अनुपस्थितिमा इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को सीजनमा दिल्ली क्यापिटल्सको कप्तानी अष्ट्रेलियाई क्रिकेटर डेविड वार्नरले गर्नेछन्। दिल्ली क्यापिटल्सले आईपीएल २०२३-मा आफ्नो अभियानको शुरुवात एक अप्रेलमा लखनऊ सुपरजाइण्ट्स विरुद्ध गर्नेछ। मुख्य प्रशिक्षक रिकी पण्टिंग अनि टीम प्रबन्धनबीच लामो चर्चा-परिचर्चापछि अन्तरिम आधारमा टीमको कप्तानी गर्न वार्नर सटीक व्यक्ति रहने फसेला गरियो। गत वर्ष दिसम्बरमा भयावह कार दुर्घटनामा पर्ने पन्त अहिले चोटमुक्त हुने प्रक्रियामा रहेका छन्। चोट सम्पूर्ण रूपले निको नभएको हुनाले पन्त आईपीएल २०२३-को पूरा सीजनबाट बाहिर भइसकेका छन्। यसैकारण क्यापिटल्सको टीमले नयाँ कप्तान चयन गर्नु पऱ्यो। कप्तानको विकल्पको रूपमा टीममा वार्नरको साथमा अलराउण्डर अक्षर पटेल रहेका थिए।
वार्नरले दोस्रोपल्ट दिल्ली क्यापिटल्सको कप्तानी गर्नेछन्। साल २००९ र २०१३-मा फ्रेञ्चाइजीसँग आफ्नो गत कार्यकालको अवधि वार्नरले केही म्याचहरूमा टीमको कप्तानी गरेका थिए। यस ओपनिंग ब्याटरलाई सनराइजर्स हैदराबादले २०१४-मा खरीद गरेको थियो। वार्नरकै कप्तानीमा सनराइजर्सले २०१६-को सीजनमा आईपीएल ट्रफी जितेको थियो। आईपीएलमा सर्वाधिक म्याच जित्ने मामिलामा वार्नर पाँचौं संयुक्त सफल कप्तान हुन्। उनले कप्तानको रूपमा ६९-मा ३५ वटा म्याच जितेका छन्। यसबाहेक ३२ वटा म्याच हारेका थिए भने २ वटा म्याच टाई रहेको थियो।
कप्तानको अतिरिक्त जिम्मेवारीले पनि वार्नरको ब्याटिंगमा कुनै खराब असर पारेन। आईपीएलमा उनको नाममा ४७.३३-को औसत अनि १४२.२८-को स्ट्राईक रेटले कप्तानको रूपमा एउटा शतक अनि २६ वटा अर्द्धशतकको साथ २८४० रन रहेको छ। यसबीच २०२१-को सीजनमा कप्तान र ब्याटरको रूपमा लय गुमाएपछि सनराइजर्सले वार्नरलाई हटाएर केन विलियम्सनलाई कप्तान नियुक्त गरेको थियो। यस कुरालाई लिएर टीम र वार्नरबीच मतभेद भएको थियो अनि उनलाई २०२२-को मेगा लिलामी अघि टीमले रिलीज गरेको थियो। लिलामीमा दिल्ली क्यापिटल्सले वार्नरलाई ६.२५ करोड़ रुपियाँमा किनेको थियो। आईपीएलको गत सीजनमा उनले ४८-को औसतले टीमको निम्ति सर्वाधिक ४३२ रन बनाएका थिए। यस अवधि उनले १५०.५२-को स्ट्राईक रेटले पाँचवटा अर्द्धशतक पनि बनाएका थिए। आफ्नो अन्तिम लीग म्याचमा मुम्बई इण्डियन्स विरुद्ध मामूली अन्तरले हारपछि दिल्ली क्यापिटल्सको टीम प्लेअफ्-मा स्थान बनाउनदेखि चुकेको थियो। दिल्ली सातवटा जीत र सातवटा हारको साथ जम्मा १४ पोइण्ट लिएर आईपीएल टेबलमा पाँचौं स्थानमा रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement