च्याम्पियन्स लीगः एर्लिंग हालाण्डको ५ गोलले म्यानचेष्टर सिटी क्वार्टर फाइनलमा

CollageMaker_2023315105234471.jpg

१५ मार्चः विध्वंशी लयमा रहने एर्लिंग हालाण्डको रेकर्ड ५ गोलको सहायताले म्यानचेष्टर सिटीले यूएफा च्याम्पियन्स लीगको क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार राति खेलिएको राउण्ड अव् सिक्स्टीन चरणको दोस्रो लेगको म्याचमा प्रीमियर लीग क्लबले आरबी लिपजिगलाई ७-०-ले पिट्यो। यसअघि जर्मन क्लबको होम ग्राउण्डमा खेलिएको पहिलो लेगको म्याच १-१-ले ड्र रहेको हुनाले समग्रमा ८-१-ले जीतको साथ म्यानचेष्टर सिटीले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। आफ्नो होम ग्राउण्ड एतिहाद स्टेडियममा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीले आरबी लिपजिगलाई कुनै मौका दिएन। पेप ग्वार्डियोलाको टीमको निम्ति नर्वेका युवा स्ट्राईकरले २२औं मिनटमा पेनल्टीबाट गोलको खाता खोले। त्यसपछि हालाण्डले २४औं, मध्यान्तर अघि स्टपेज टाइमको दोस्रो मिनट, ५३औं र ५७औं मिनटमा अझ ४ गोल गरी जर्मन क्लबको चुनौतीलाई माटोमा मिलाए। सिटीको तर्फबाट अन्य दुईवटा गोल इल्के गुण्डोगन (४९औं मिनट) र केविन डे ब्रूयेन (स्टपेज टाइमको दोस्रो मिनट)-ले छिराए। पूरा म्याचमा सिटीले २३ पल्ट विपक्षी पोस्टमा आक्रमण गऱ्यो अनि १३ पल्ट गोली लक्ष्यमा रह्यो। आरबी लिपजिगले चाहिँ केवल ४ पल्ट सिटीको पोस्टमा हमला गर्न सक्यो। हालाण्ड च्याम्पियन्स लीगको जारी सीजनमा १० गोलको साथ सर्वाधिक गोलदाताहरूका सूचीमा शीर्ष स्थानमा रहेका छन्। लिभरपूलका मोहम्मद सलाहले दोस्रो सर्वाधिक ८ गोल गरेका छन्। यसरी नै हालाण्डले च्याम्पियन्स लीगमा केवल २५ वटा म्याचमा ३० गोलको माईलखुट्टीलाई हासिल गरे। यसरी उनी टुर्नामेण्टको इतिहासमा सबैभन्दा तेज अनि सबैभन्दा कम्ती उमेरमा ३० गोलसम्म पुग्ने खेलाड़ी बने। हालाण्डले केवल २२ वर्ष अनि २३६ दिनको उमेरमा यस उपलब्धिलाई हासिल गरे। यसरी नै च्याम्पियन्स लीगको इतिहासमा एउटा म्याच पाँच गोल गर्ने हालाण्ड केवल तेस्रो खेलाड़ी हुन्। यसअघि लुइज एड्रिआनो (अक्टोबर २०१४, शाख्तर डोनेस्क बनाम बीएटीई बोरिसोव) र लियोनल मेस्सी (मार्च २०१२, बार्सिलोना बनाम बायर लेवरकुसेन)-ले यस उपलब्धिलाई हासिल गरेका थिए। हालाण्डले सिटीको तर्फबाट यस सीजनमा सबै टुर्नामेण्ट मिलाएर जम्मा ३९ गोल गरिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement