गान्तोक: पूर्वोत्तर क्षेत्रभित्रका अप्रयुक्त सम्भावना र अवसरहरू प्रदर्शन गर्ने प्राथमिक उद्देश्यका साथ पूर्वोत्तर क्षेत्रमा चारवटा बी२० सम्मेलनहरू आयोजना गरिएको छ। दुईवटा बैठक इम्फाल र आइज्वलमा सम्पन्न भइसकेका छन्। सिक्किमले १५ देखि १७ मार्चसम्म पूर्वोत्तरमा निर्धारित चार बी२० इण्डिया कार्यक्रमहरूमध्ये तेस्रो कार्यक्रम आयोजना गर्नेछ। बी२० मा संलग्न समूह यसको सबैभन्दा प्रमुख संलग्न समूहहरूमध्ये एक हो, जसमा कम्पनी र व्यापार सङ्गठनहरूको सहभागिता रहेको छ।

सामूहिक रूपमा बी२० ले विश्वव्यापी व्यापार नेतृत्वहरूलाई परिचालन गर्ने र जी२० व्यापार समुदायको सहमतिलाई एकल आवाजमा प्रस्तुत गर्दै विश्वव्यापी आर्थिक तथा व्यापार सुशासनका मुद्दाहरूमा उनीहरूको दृष्टिकोणलाई एकताबद्ध गर्ने लक्ष्य राखेको छ। यी बैठकहरूमा भएको छलफलको आधारमा अन्तिम सिफारिशहरूले भारतको जी२० अध्यक्षताअन्तर्गत परिकल्पना गरिएका समग्र परिणामहरूको एक हिस्सा बन्नेछ। १५ देखि १७ मार्चको लागि गान्तोकमा हुने बी२० कार्यक्रमले पर्यटन, आतिथ्य, औषधि र जैविक खेतीमा बहुपक्षीय व्यापार साझेदारीका अवसरहरूमाथि प्रकाश पारिनेछ।

यी विषयमा विस्तृत छलफलका साथसाथै राज्यले महत्त्वपूर्ण क्षेत्रमा लगानी प्रवर्द्धनमा केन्द्रित भएर यी क्षेत्रका लागि गरिएका प्रमुख गतिविधिहरूलाई प्रकाश पार्नेछ। सरकारले तीनदिने मेलाका लागि व्यापक तयारी गरेको छ। कार्यक्रमको शुरुआत प्रतिनिधिहरूको आगमनपछि एमजी मार्गको भ्रमणबाट हुनेछ। दोस्रो दिन चिन्तन भवनमा बी२० सम्मेलन र त्यसपछि बीटुबी र बीटुजी बैठकहरू हुनेछन्।

दोस्रो दिन रूम्तेक गुम्बाको भ्रमण पनि हुनेछ, जुन यसको सुन्दर वास्तुकला, आश्चर्यचकित अद्भूत भित्ते चित्रकला र जटिल नक्काशीका लागि प्रसिद्ध छ। यसमा प्राचीन धर्मग्रन्थ र थाङ्कासहित धेरै बहुमूल्य बौद्ध अवशेषहरू पनि छन्। त्यसपछि होटल मेफेयरमा गाला डिनर हुनेछ। सम्मेलन तेस्रो दिन प्रतिनिधिहरूको प्रस्थानसँगै समापन हुनेछ। -पीआईबी









