कालचिनीः विगत २३ सेप्टेम्बरको दिनदेखि भोटाङ गेट खोलिएपछि भारत भोटाङबीच आउजाउ सामान्य बन्दै गईरहेको छ भने भारत भोटाङ सीमान्त जयगाउँ सहरले विस्तारै राहत पाईरहेको छ। यसबीच फुन्छोलिङ भोटाङ र जयगाउँको आन्द्रा मानिने चाइनीज लाईनको पैदलमार्ग भने आजसम्म नखोलिएकोले चाइनीज लाईनको व्यावसायीहरू मर्कामा परेका छन्। चाइनीज लाईन पैदलयात्रीको निम्ति सुगम औ सर्टकट बाटो हुनाले यसलाई खोलाउन भारतीय प्रशासनिक पक्षले भोटाङलाई निवेदन गर्दै आईरहेको थियो। हालै मात्र भोटाङले चाइनीज लाईनको बाटो चाँढ़ै खोल्ने सकारात्मक घोषणा गरेकोले जयगाउँमा खुसीको लहर चलेको छ। सोमबार यसै क्रममा भोटाङका अधिकारी अनि जेडीए अधिकारी लगायत कस्टम, आबकारी, पुलिस अनि एसएसबी अधिकारीबीच जेडीए कार्यालयमा एउटा बैठक सम्पन्न भयो।
उक्त बैठकमा फुन्छोलिङ भोटाङका डुङ्पा डासो कर्मा अनि जेडीएका एइओ भूषण शेर्पा एवम् अन्यान्य अधिकारीहरूबीच चाइनीज लाईनको बाटो खोल्दा लागु हुने नियमहरुबारे चर्चा चलेको थियो। बैठक समाप्ति पश्चात जेडीएका एइओ भूषण शेर्पाले चाइनीज लाईनको बाटो लिएर चर्चा भएको तर कहिलेदेखि खोलिने यसबारे कुनै मिति तय नभएको र आगामी दिनमा यस विषयमा पुनः बैठक हुने जनाएका छन्।










