१३ मार्चः हप्ता दिनदेखि चलिरहेको सस्पेन्स अन्तमा गएर सोमवार समाप्त भयो। अष्ट्रेलिया विरुद्ध अहमदाबादमा जारी बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको चौथो म्याच समाप्त हुन अघि नै भारतले आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी)-को फाइनलमा स्थान बनायो। भारतले डब्ल्यूटीसी-को पहिलो संस्करणमा पनि फाइनल खेलेको थियो। फाइनल पुग्ने होड़मा भारतलाई चुनौती दिने श्रीलंकालाई आज न्यूजील्याण्डले पहिलो टेस्ट म्याचमा २ विकेटले पराजित गऱ्यो। श्रीलंका हार्नको साथै भारतले डब्ल्यूटीसी फाइनलको निम्ति क्वालीफाई गऱ्यो। भारतले अब ७-देखि ११ जूनसम्म लण्डनको ओवल मैदानमा खेलिने डब्ल्यूटीसी फाइनलमा अष्ट्रेलियाको चुनौती स्वीकार्नेछ। अष्ट्रेलियाले यसअघि भारत विरुद्ध इन्दौरमा खेलिएको सीरीजको तेस्रो टेस्ट म्याच जितेर फाइनलमा स्थान बनाएको थियो।

दुईवटा टेस्ट म्याचको सीरीजअन्तर्गत पहिलो टेस्ट म्याचमा न्यूजील्याण्डको चमत्कारी जीतमा केन विलियम्सन नायक रहे। विलियम्सनले अविजित १२१ रन बनाएर श्रीलंकाको चुनौतीलाई समाप्त गरे। उनले १९४ बल खेलेर ११ वटा चौका र एउटा छक्का लगाए। जीतको निम्ति न्यूजील्याण्ड अघि दोस्रो ईनिंग्समा २८५ रन बनाउने चुनौती थियो, जसलाई न्यूजील्याण्डले ८ विकेट गुमाएर हासिल गऱ्यो। विलियम्सनबाहेक डेरल मिचेलले ८६ बलमा ४ वटा छक्का र ३ वटा चौकाको साथ महत्त्वपूर्ण ८१ रन बनाए। श्रीलंकाका बलरहरूमा असिथा फर्नाण्डोले ३ विकेट हासिल गरे। म्याचको दुवै ईनिंग्स (१०२ र ८१)-मा असल ब्याटिंगको निम्ति डेरल मिचेललाई प्लेयर अव् द म्याच चयन गरियो।










