गान्तोकः अत्याधिक हिमपातका कारण छाङ्गु झील परिसरमा फँसेका लगभग 400 पर्यटकलाई सकुशल गान्तोक ल्याइएको छ। गान्तोकबाट लगभग १०० वटा वाहनमा ४०० पर्यटकहरू हिजो छाङ्गु घुम्न गएका थिए, तर फर्किने क्रममा अत्याधिक हिमपात भएपछि उनीहरू गान्तोक आउन सकेनन्। यसरी हिमपातको चपेटमा परेर फँसेका पर्यटकहरूलाई सेनाको त्रिशक्ति, पुलिस र नागरिक प्रशासनको पहलमा उनीहरू सबैलाई उद्धार गरिएको सेनाद्वारा जारी एक विज्ञप्तिमा जानकारी गराइएको छ। संयुक्तरूपमा चलाइएको हिमराहत अपरेशनको माध्यमद्वारा सबैलाई सुरक्षित रूपमा सेनाको छाउनीमा लगिएको थियो। राति लगभग ११ बजीसम्म निरन्तर उद्धार कार्य चलाइएको बताइएको छ।
सबै पर्यटकहरूलाई सुरक्षित सेनाको छाउनीमा लगेपछि उनीहरूलाई न्यानो कपडा, औषधि र खानेकुराको प्रबन्ध सेनाले गरेको थियो। हिमपातका कारण छाङगु झील परिसरमा फँस्नेहरूमा १७८ जना पुरूष, १४२ जना महिला र ५० जना नानीहरू रहेका थिए। यस घटनालाई लिएर सेनाले ग्रेफका अधिकारीहरूसँग सम्पर्क गरेपछि बिहान ९ बजीसम्म सडक सफा गरिएपछि सबै पर्यटकहरूलाई सुरक्षित गान्तोक ल्याइएको छ। यस्तो अवस्थामा सेनाद्वारा गरिएको काम र व्यवहारको पर्यटकहरूले प्रशंसा गर्दै कृतज्ञता प्रकट गरेका छन्। उल्लेखनीय छ, सेनाले प्रत्येक वर्ष नै हिमपातका कारण फँसेका पर्यटकहरूलाई सुरक्षित उद्धार गर्दै उनीहरूको सम्पूर्ण व्यवस्था मिलाउॅंदै आइरहेको छ।