फ्र्याङ्कको गोप्य कोठा र अस्त्रोभस्किको क्रान्ति युद्ध लोकार्पित

00-1-20231004235349_IMG_7650

बाग्राकोटः एन फ्र्याङ्कको विश्व प्रसिद्ध डायरीलाई अब नेपाली पाठकले ‘गोप्य कोठा’को रूपमा पढ्न पाउने भएको छ। दोस्रो विश्वयुद्ध र तानाशाही  हिटलरको शासनद्वारा प्रताड़ित तेह्र वर्षकी किशोरीले लेखेकी डायरीलाई अनुवादक छेवाङ योञ्जनले नेपालीमा अनुवाद गरेका छन्। यस अघि नै अरून्धूति रोय र बीआर अम्बेडरको पुस्तकलाई अनुवाद गरिसकेका योञ्जनले नयाँ पुस्तकको रूपमा उक्त पुस्तक ल्याएका छन्। फ्र्याङ्कको डायरीसँगै डुवर्सका अनुवादक गङ्गाप्रसाद प्रधानले अनुवाद गरेको रूसी लेखक निकोलाई अस्त्रोभस्किको अजम्बरी कृति क्रान्ति यौद्धालाई आज एकैसाथ लोकार्पण गरिएको छ।

लाली गुराँसको दशौं वर्षगाँठको अवसरमा आयोजित विशेष कार्यक्रमबीच आज दुईवटा पुस्तकको एकैसाथ लोकार्पण गरिएको छ। अनुवादक द्वय छेवाङ योञ्जन  र गङ्गाप्रसाद प्रधानसँगै कार्यक्रममा उपस्थित उपन्यासकार छुदेन काविमो, लेखक गोपाल विश्व, नीलामणि थापा, प्रेम तामाङ, रविन प्रधान तथा माया शर्माको बाहुलीबाट उक्त दुई कृतिको एकैसाथ लोकार्पण गरिएको छ। लोकार्पणपछि अनुवादमाथि अन्तरक्रिया पनि आयोजना गरिएको थियो। अनुवादक गंगाप्रसाद प्रधान, छेवाङ योञ्जन, आख्यानकार छुदेन काविमो र पाठकको रूपमा उपस्थित माया शर्मालाई लिएर आयोजित उक्त अन्तरक्रियालाई नारायण काफ्लेले सञ्चालन गरेका थिए। लेखनको महत्वदेखि लिएर अनुवादको आवश्यकताबारे पनि अन्तरक्रियामा चर्चा गरिएको थियो। पुस्तक लोकार्पणपछि अशोक राई स्कूल अफ म्यूजिकको पक्षबाट श्रीध्या सिस्टर्स र सार्थक सप्तक इशान तथा गोकुलसिहं थापाले साङ्गेतिक प्रस्तुति दिएका थिए।

समालोचक रूपेश शर्माले आफ्नो वार्ता पेश गरेको उक्त कार्यक्रममा लाली गुराँसका सदस्य तथा अनुवादक समीक चक्रावर्ती, सुमेन्द्र तामाङ लगायत स्थानीयहरूको व्यापक उपस्थिति रहेको थियो। अनुवाद किताबको लोकार्पणपछि  अनुवादक गंगाप्रसाद प्रधानले आफूले अनुवाद गरेको पुस्तक झण्डै पैतालीस वर्षपछि पुस्तकको रूपमा आएको बताए। उनले भने, ‘यो पुस्तक सन् १९७५ मा नै अनुवाद गरेर राखेको थिएँ। तर, प्रकाशक पाएको थिइनँ। यसचोटि लाली गुराँसले किताबलाई पाठकको हातमा पुर्याइदिने भयो। झण्डै पैताली वर्षपछि आफूले अनुवाद गरेको पुस्तक किताबको रूपमा आउँदै अर्कै खुशीको अनुभव हुनेरहेछl’ कार्यक्रममा युवा कवि भाग्यहाङ लिङ्गदेन, कवि ग्रेसी राई थुलुङलगायतले कविता पाठ गरेका थिए।

About Author

Advertisement