कालचिनीः मीडिया आर्गनाइजेशन भिडियो भोलिन्टियर्सको लक्ष्य उड़ान हौसला कार्यक्रम अन्तर्गत अल बेङ्गल आदिवासी स्टुडेन्ट एसोसिएसन आबासाको पहल अनि नर्थ बेङ्गाल धुमकुरिया एकाडेमी ट्रस्ट र सन्त पिटर एजुकेशनल सोसाइटीको सहयोगितामा आइतबार कालचिनी स्थित रविन्द्र-भानु-बिरसा सामुदायिक भवनमा कालचिनी खण्डको प्रायः १५० जना विद्यार्थीहरूलाई समेटेर क्यारियर काउन्सिलिङ कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा आदिवासी समाजसेवी तथा अधिवक्ता नवीन केरकेट्टा, सन्त पिटर एजुकेशनल सोसाइटीको संस्थापक अनि आदिवासी समाजसेवी जयप्रकाश तिग्गा र भिडियो भोलिन्टियर्सका उत्तरबंगाल फील्ड डाइरोक्टर हरिहर नागवंशीले विद्यार्थीहरूलाई उनीहरूको भविष्य निर्माणबारे अनि शैक्षणिक विकासमाथि सचेतना साथै प्रयोगात्मक प्रशिक्षण प्रदान गरेको थियो।
शिक्षा एउटा असल हतियार रहेको बताउँदै यसले कुनै पनि समुदाय अर्थात व्यक्तिलाई दिशा अनि दशा देखाउने भएकोले यसमा लक्ष्य अडिग राखेर अघि बढ़ने नवीन केरकेट्टा र जयप्रकाश तिग्गाले विद्यार्थीहरूलाई आह्वान गरेको थियो। भिडियो भोलिन्टियर्स रसिता चीक बडाइक र हरिहर नागवंशीले समुदायलाई अघि बढ़ाउन शिक्षा एवम् सचेतना जरुरी रहेकोले लक्ष्य उड़ान हौसलाको कार्यक्रम चारवटा जिल्लामा चल्ने र अलिपुरद्वार र जलपाईगढ़ी जिल्लाको विभिन्न ब्लकहरूमा आदिवासी विद्यार्थीहरूलाई समेटेर यस्ता क्यारियर काउन्सिलिङ कार्यक्रम सम्पन्न हुने जनाएका छन्। आइतबार सम्पन्न सो कार्यक्रममा आबासाका अध्यक्ष सोनु खड़िया र एमबीबीएस विद्यार्थी सञ्जु उराँवले विद्यार्थीहरूलाई प्रोत्साहन जगाउने बलियो उदाहरण प्रस्तुत गरेको थियो भने आउँदो सालमा सञ्जु उराँवले एमबीबीएसको डिग्री पुरा गरेर देखाउने वाचा दिएको थियो।