एसपीआईएफद्वारा ‘हिंसात्मक राजनीतिको प्रतिरोध गर्दै लोकतन्त्रलाई बचाऔं’ विषयमाथि संगोष्ठी आयोजित

Untitled-1-copy-23

गान्तोकः राजनीतिमा हुने हिंसात्मक गतिविधि विरूद्ध सामूहिक एकजुटताको आवश्यक्ता अनुभुति गर्दै सिक्किम प्रोग्रेसिभ युथ फोरम (एसपीवाईएफ)-ले शुक्रवार गान्तोकमा आयोजन गरेको साझा गोष्ठीपछि सर्वसम्मतिमा दुईवटा प्रस्ताव पारित गरिएको छ। हिंसात्मक राजनीतिको प्रतिरोध गर्दै लोकतन्त्रलाई बचाऔं भन्ने विषयमा एसपीवाईएफले आयोजन गरेको साझा गोष्ठीमा सत्तारुढ एसकेएम पार्टी बाहेक राज्यका अन्य सबै राजनैतिक दल र गैर सरकारी सङ्गठनका प्रतिनिधिले भाग लिएका थिए।गोष्ठिमा सबै पार्टी र संगठनका प्रतिनिधिको विचारपछि सर्वसम्मतिमा आजकै जस्तो गोष्ठि आगामी दिनमा प्रत्येक जिल्लामा आयोजन गर्ने र राजनैतिक हिंसाको प्रतिवाद गर्दै एउटा शान्तिपूर्ण मार्च (ऱ्याली) आयोजन गर्ने प्रस्ताव पारित गरिएको छ। आजको गोष्ठि एसपीवाईएफले आयोजन गरेको, तर आगामी दिनमा गर्ने गोष्ठि र शान्ति ऱ्याली सबैले मिलेर गर्ने निर्णय लिइएको छ। तथापि यसका लागि मिति भने तय गरिएको छैन।

सिक्किमको राजनीतिमा संरचनात्मक र सोझो दुवै प्रकारले हिंसा बढेर गएको उल्लेख गर्दै एसपीवाईएफका महासचिव रुपेन कार्कीले गम्भीर विषयमाथि राजनीति केन्द्रित हुन आवश्यक रहेको बताए। उनले भने, वास्तविक मुद्दामाथि सिक्किममा राजनीति भइरहेको छैन। विमतिलाई सरकारले हिंसात्मक रूपमा दबाउन चाहेको अवस्थामा प्रतिरोधका लागि सबै एकजुट हुन आवश्यक छ। सिक्किममा राजनैतिक हिंसा पहिला पनि हुने गरेको, तर अहिले यो चरम पुगेको आरोप लगाउॅंदै अधिवक्ता तथा राजनीतिक कार्यकर्ता नविन किरण प्रधानले सिक्किमका युवाहरूलाई राजनीतिमा हुने हिंसात्मक गतिविधिमा सामेल नहुन आग्रह गरे। उनले राज्यमा राजनैतिक हिंसा बढेर जानुको प्रमुख कारण मुख्यमन्त्री पीएस गोलेको उक्साउपूर्ण भाषण पनि रहेको ठहर गरे। उनले पार्टी अध्यक्षको रूपमा काम गर्ने हो भने पीएस गोलेले मुख्यमन्त्रीको पद छोड्नुपर्छ भनी बताए। गोष्ठिमा बोल्दै सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईले राजनीतिमा हुने हिंसालाई रोक्न सहि आचरण भएका व्यक्तिलाई सरकारमा पुऱ्याउन आवश्यक रहेको बताए। राजनीति जनसेवा भएका कारण यसमा हिंसाको कुनै स्थान नरहने उनको भनाइ छ। उनले भने, राजनीति गर्ने व्यक्ति जन सेवक हुन्, उनीहरूबाट हिंसात्मक गतिविधि हुनै हुँदैन। सरकारमा हुनेले जन आकांक्षा अनुरुप काम गर्नुपर्छ। यसरी नै जोइन्ट एक्सन काउन्सिलको महिला शाखाकी संयोजक तथा अधिवक्ता विणा राईले राजनीतिमा हुने हिंसालाई रोक्न महिला सशक्तिकरणको आवश्यकता रहेको बताइन्। उनले गलत कार्यलाई प्रतिवाद गर्ने शक्ति महिलामा विकास भए हिंसात्मक गतिविधिमा धेरै कमी आउने बताइन्। यसका साथै उनले कुनै पनि पक्षबाट हुने हिंसालाई प्रतिवाद गर्नुपर्ने बताइन्।

गेजिङका जिल्ला पञ्चायत तथा एसपीवाईएफका सदस्य सागर शर्माले चुनाउमा खर्च गर्ने प्रथालाई बन्द गरे राजनीतिमा हुने हिंसा स्वतः घटेर जाने दाबी गरे। राजनीतिमा हुने गरेका हिंसाले गाउँमा डरको भावना बढेको छ भन्दै हिंसालाई रोक्न सामूहिक प्रसाय आवश्यक रहेको बताए। उनले भने, नेताले आफ्नो पछाडि हुद्दा लिएर हिड्ने अवस्थामा सुधार नआएसम्म राजनीतिमा हिंसा भइरहन्छ। व्यक्तिको होइन विचारको जयकार हुने प्रथा नबसेसम्म यो अवस्थमा सुधार आउनेवाला छैन्। ढाँटको राजनीति हुनु हुँदैन। ढाँटेर गरिएको राजनीति पूरा नहुँदा हिंसा बढेर जाने गर्छ। एसपीवाईएफले आयोजन गरेको चर्चाको विषय गम्भीर रहेको उल्लेख गर्दै सिक्किम प्रदेश भाजपाका सदस्य डाक्टर कमल अधिकारीले राजनीतिमा हुने हिंसा कम गर्न यथार्थवादी दृष्टिकोणको आवश्यकता रहेको बताए। सिक्किम राज्यमा वर्तमानमा ८५ हजार मानिसहरू बेरोजगार रहेका दाबी गर्दै कतिपय अवस्थामा बेरोजगारी पनि हिंसाको कारण हुने बताए। उनले राज्यको बेरोजगारी समस्या समाधान गर्न ठोष पहल हुनुपर्ने, शिक्षा व्यवस्थामा सुधार ल्याउनुपर्ने, रोजगारीका अवसर र अन्तरवार्ता हरेक वर्ष आयोजन गरिनुपर्ने, पर्यटन क्षेत्रमा स्थानीयलाई प्रोत्साहन गर्नुपर्ने, नयाँ अवसरको सिर्जना गरिनुपर्ने कुरामा बल दिए।

सिटिजन एक्सन पार्टीका प्रवक्ता महेश राईले एसडीएफ र एसकेएम दुवै सरकारका कार्यकालमा राजनैतिक हिंसा लगातार भइरहेका उल्लेख गर्दै राज्यमा बहुआयामी तरिकाले राजनैतिक हिंसा बढेर गएको बताए। राजनीति गर्ने व्यक्ति र पार्टीको विचारधारामा नै सुधार नआएसम्म हिंसा रोकिॅंदैन भन्दै हिंसालाई रोक्न पुलिस प्रशासन र ब्युरोक्रेसीलाई सत्तापक्षको राजनैतिक बन्देजबाट मुक्त राखिनुपर्ने बताए। राजनैतिक हिंसाले समाजनमा दूरगामी असर बढ्दै गएका कारण राजनीतिमा सुधार ल्याउनु सिक्किममा सबैभन्दा ठूलो आवश्यता रहेको महेश राईको ठहर थियो। अर्कोतर्फ स्वतन्त्र रूपमा सिक्किमको राजनीतिलाई हेरिरहेका युवा दिपक तिवारीले सिक्किमका आम नागरिकले शान्ति व्यवस्थालाई बनाइ राखेको, तर हिंसाको श्रोत राजनीति गर्ने पार्टी र व्यक्तिहरूमा नै रहेको बताए। सिक्किमका राजनीतिक पार्टीहरूले विचारधाराको आधारमा होइन, तर सत्ता केन्द्रित राजनीति गरेकाले हिंसा बढेको ठहर गर्दै उनले राजनीतिक दलहरूलाई पार्टीभित्र मानव संसाधनको व्यवस्थापनमा पनि ध्यान केन्द्रित गर्ने सुझाउ दिए। आजको गोष्ठिमा एलटीभीसीका प्रतिनिधि साम्सो सुब्बा, सिक्किम प्रदेश कांग्रेस कमिटीका सदस्य टीएन अधिकारी, आम आदमी पार्टीका केएल थापा, अधिवक्ता सुन्दर बस्नेत, गोर्खा जागरण संघका प्रतिनिधि बलविर तामाङ, जोइन्ट एक्सन काउन्सिलकी एल्मित राई, सिक्किम सुरक्षा समितिका मदन तामाङ लगायत अन्यले पनि विचार राखेका थिए। गोष्ठिमा सहभागिता जनाए पनि एसडीएफ पार्टी र हाम्रो सिक्किम पार्टीका प्रतिनिधिले आफ्नो विचार भने राखेनन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *