गान्तोकः राज्यका विभिन्न सरकारी उच्चत्तर माध्यमिक विद्यालयमा एघारौं श्रेणीमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरूलाई अध्ययन भ्रमणको निम्ति पठाइयो। राजधानीस्थित एसएनटी परिसरबाट शिक्षा विभागका सल्लाहकार एमपी सुब्बाले झण्डा हल्लाएर विद्यार्थीहरूलाई प्रस्थान गराए। यस भ्रमणमा ९० वटा विद्यालयबाट १८० जना विद्यार्थीहरूलाई छनौट गरिएको छ भने ६ जना शिक्षकहरू पनि सामेल रहेका छन्। उनीहरूलाई अध्ययन भ्रमणको निम्ति कोलकाता पठाइएको हो।
आफ्नो छोटो सम्बोधनमा सुब्बाले विद्यार्थीहरूलाई अध्ययन भ्रमण गराउने सोच र विचार राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको रहेको र उनकै निर्देशमा यो पहल शुरू गरिएको जानकारी गराए। विशेषगरि विद्यार्थीहरूलाई अध्ययनको क्षेत्रमा प्रोत्साहित गर्न यस प्रकारको कार्यक्रम शुरू गरिएको उनले बताए। सुब्बाले विद्यार्थीहरूलाई भ्रमणबाट नयाँ अनुभव लिनु पर्ने आग्रह गरे।

शिक्षा विभागका निर्देशक के.सी. ग्याछोले सल्लाहाकार सुब्बालाई आफ्नो बहुमूल्य समय निकालेर उपस्थित भइदिएकोमा धन्यवाद दिए। उनले शैक्षिक भ्रमणले विद्यार्थीहरूको आफ्नो दृष्टिकोणलाई फराकिलो बनाउन र रचनात्मक विचार विकास गर्न सहयोग पुग्ने बताए। उनले शैक्षिक भ्रमणले विद्यार्थीमा अनुसन्धान र आत्मनिर्भरताको भावना ल्याउन सक्ने सम्भावना व्यक्त गरे।