गान्तोकः पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल अनुपा चामलिङको अगुवाईमा जिल्ला प्रशासनका अधिकारीहरू र गति इन्फ्रास्ट्रक्चरका अधिकारीहरूद्वारा रंगेलीस्थित गति इन्फ्रास्ट्रक्चर प्रालि- को संयुक्त निरीक्षण भ्रमण गरियो। निरीक्षणका क्रममा अतिरिक्त जिल्लापालले सो कम्पनीले शुरू गरेका सुरक्षा उपायहरू, स्पष्ट साइन बोर्ड र रोङ्ली बाँध क्षेत्रको उचित ब्यारिकेडसहित अन्य कुराहरूको जानकारी लिइन्। उनले आपतकालीन सुरक्षा गियरको पनि मूल्याङ्कन गरिन्, जस्तै अलार्म र सुरक्षा हार्नेसहरू, जुन आपतकालको समयमा प्रयोग गरिन्छ। उनले उपकरणले दुर्घटनाको समयमा काम गर्न सक्छ कि सक्दैन् भन्नेबारेमा मूल्याङ्कन गरेकी थिइन्।

टोलीले प्लान्ट साइटको पनि भ्रमण गऱ्यो। जसमा गतिका अधिकारीहरूले पावर प्लान्टको विभिन्न प्राविधिक पक्षहरूको बारेमा जानकारी गराए। अतिरिक्त जिल्लापालको अध्यक्षतामा गति इन्फ्रास्ट्रक्चरका प्रतिनिधिहरूबीचको बैठक सम्पन्न भयो जसमा कार्य प्रतिवेदनको समीक्षा गरियो र जलाशयको क्याचमेन्ट क्षेत्र नजिक स्पष्ट बोर्ड चिन्हहरू, साइरन, र उपयुक्त बार लगाउने लगायतका धेरै विषयहरूमाथि अवलोकन गरियो।