१५ मईः भारतको पुरुष टीमले आइतवार ब्यांकक्-मा भएको एकतर्फी फाइनलमा १४ पल्टका च्याम्पियन इण्डोनेशियालाई ३-०-ले पराजित गरी पहिलोपल्ट प्रतिष्ठित थोमस कपको खिताब जितेर आफ्नो नाम इतिहासको पन्नामा दर्ता गरायो। य़सरी भारतले ७३ सालमा पहिलोपल्ट थोमस कप जित्ने गौरव हासिल गऱ्यो। भारतीय टीमले टुर्नामेण्टको इतिहासमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गऱ्यो। भारतीय टीमबाट एकलमा विश्व च्याम्पियनशीपमा पदक विजेता युवा लक्ष्य सेन र अनुभवी किदाम्बी श्रीकान्तको साथ युगलमा सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको आठौं नम्बरको जोड़ीले यादगार जीत दर्ता गऱ्यो। नक्आउट चरणमा लय हासिल गर्नको निम्ति जुझिरहेका लक्ष्यले सबैभन्दा महत्त्वपूर्ण म्याचमा आशानुरुप प्रदर्शन गर्दै पहिलो एकल म्याचमा असाधारण पुनरागमनको साथ विश्वका पाँचौं नम्बरका खेलाड़ी एन्थोनी सिनिसुका गिनटिंगलाई ८-२१, २१-१७, २१-१६-ले पराजित गरी भारतलाई १-०-को बढ़त दिलाए। त्यसपछि सात्विक र चिरागको देशको शीर्ष युगल जोड़ीले प्रतिकूल परिस्थितिमा असाधारण प्रदर्शनको साथ चारवटा म्याच पोइण्ट बचाउँदै मोहम्मद अहसन र केविन सञ्जय सुकामुल्जोको जोड़ीलाई १८-२१, २३-२१, २१-१९-ले पराजित गऱ्यो। यसरी भारतको बढ़त २-० भयो। अन्तमा दोस्रो एकलमा श्रीकान्तले उत्कृष्ट प्रदर्शनको साथ एशियाई खेलहरूमा स्वर्ण पदक विजेता जोनाथन क्रिस्टीलाई सीधा गेममा ४८ मिनटमा २१-१५, २३-२१-ले पराजित गरी भारतलाई ३-०-को अजेय बढ़त दिलाए।