खरसाङ कलेजमा जीटीए चिफ् अनित थापाद्वारा नयाँ श्रेणी कोठाको उदघाटन साथै नयाँ भवन निर्माणको शिलान्यास

IMG-20230309-WA0189.jpg

खरसाङ: खरसाङ महाविद्यालयमा पुगेर जीटीए चिफ् अनित थापाले नयाँ श्रेणी कोठाहरूको उदघाटन गर्नुको साथै नयाँ भवन निर्माणको लागि शिलान्यास पनि गरेका छन्। खरसाङ महाविद्यालयमा पढ़ाईको लागि श्रेणी कोठाको अभाव भएपछि महाविद्यालयले तीनवटा नयाँ श्रेणी कोठाहरू निर्माण गरेर यसको उदघाटन कार्यक्रममा आमन्त्रित जीटीए चिफ् अनित थापाले खरसाङ महाविद्यालयको लागि एक करोड़ बराबरको नयाँ भवनको निर्माणको लागि उपहारस्वरूप प्रदान गर्दै आज शिलान्यास पनि गरिएको छ। उक्त नयाँ भवन लगभग ९९ लाख ८० हजार रुपियाँको बनिने र उक्त भवनको शिलान्यास खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाले गरेका थिए। खरसाङ महाविद्यालयको प्राचार्य डा समीर बल अनि महाविद्यालयद्वाका जीटीए चिफ् अनित थापा अनि उनको टिमलाई भव्य रूपमा स्वागत गरिएको थियो। अनित थापासितै जीटीएको डेपुटी चिफ् सन्चवीर सुब्बा, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, क्षेत्रीय सभासद श्याम शेर्पा, जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधान, शिक्षा विभागका अधिकारीहरू उपस्थित रहेका थिए। खरसाङ महाविद्यालयमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए चिफ् अनित थापाले आफु जीटीएको मनोनित चेयरम्यान हुँदा खरसाङ महाविद्यालयको लागि गरेको वाचा अनुसार पुरानो फाइल खोजेको बताउँदै पुरानो वाचा पूरा गर्नलाई आफु आएको बताएका छन्। उनले कलेजको प्राचार्य डा समीर बल र उनको टिमले राम्रो काम गरिरहेको जनाउँदै पहाड़को राजनीतिमा धेरै काँड़ाहरू रहेको र त्यसलाई फूल बनाउन कठिनाई हुने बताएका छन्। उनले आफु राजनीतिमा आईहालेको तर विद्यार्थीहरू राजनीतिमा नआउने सुझाव पनि राखेका छन्। कार्यक्रममा जीटीए चिफ् अनित थापाले भने, ‘विद्यार्थीहरूको यो उमेर पढ्ने हो। यही उमेर नै क्रिम हो र यही उमेरबाट नै भविष्यको निर्माण गर्न सकिन्छ। विद्यार्थीहरू पढेर ठूल्ठूलो पदमा पुगेर आफ्नो जातिको नाम उच्च पार्नुपर्छ। अहिले पढाईमा ध्यान दिनुहवस।’

कार्यक्रमलाई जीटीएको डेपुटी चिफ् सन्चवीर सुब्बाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ महाविद्यालयको प्राचार्य डा समीर बलले खरसाङ महाविद्यालयमा श्रेणी कोठाको अभाव थियो र हामीले कलेजकै खर्चमा २५ लाख बराबरको तीनवटा श्रेणी कोठाहरू बनाएर अाज उदघाटन गर्नलाई जीटीए चिफ् अनित थापालाई निमन्त्रणा दिएको बताएका छन्। जीटीए चिफ् अनित थापा खरसाङ महाविद्यालयमा आएको समय नै उनले हाम्रो कलेजको लागि ९९ लाख ८० हजारको (लगभग १ करोड़ बराबरको) लागतमा नयाँ भवन निर्माणको शिलान्यास गरेर कलेजलाई उपहार दिएको जानकारी गराएका छन्। डा समीर बलले भने, आज जीटीए चिफ् अनित थापा आउनु भएर उपहार दिनु भएकोमा हामी धेरै खुशी छौं। उनले शिक्षालाई धेरै प्राथमिकता दिनु भएको छ। यदि यो वर्षभित्र यो भवन निर्माण गर्न सकिए हामी धेरै उन्नति गर्न सक्छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement