टेस्ट क्रिकेटमा ७ हजार रन पूरा गरे एञ्जेलो म्याथ्यूजले

IMG-20230309-WA0168.jpg

९ मार्चः एञ्जेलो म्याथ्यूज टेस्ट क्रिकेटमा ७ हजार रन बनाउने कुमार संगकारा र माहेला जयवर्धनेपछि तेस्रो श्रीलंकाई ब्याटर बने। क्राइस्टचर्चको हेगले ओवलमा आयोजक न्यूजील्याण्ड विरुद्ध बिहीवारदेखि शुरु पहिलो टेस्ट म्याचको पहिलो दिन म्याथ्यूजले यस उपलब्धिलाई हासिल गरे। टेस्ट म्याचमा श्रीलंकाको निम्ति सर्वाधिक रन बनाउनेहरूका सूचीमा म्याथ्यूजले आज महान अलराउण्डर सनथ जयसूर्यालाई पछि छोड़े। टेस्ट म्याचको पहिलो दिन म्याथ्यूजले ९७ बलमा ६ वटा चौका र एउटा छक्काको साथ ४७ रन बनाए। श्रीलंकाको पहिलो ईनिंग्सको ३३औं ओभरमा कुसल मेण्डिस आउट भएपछि चौथो नम्बरमा ब्याटिंग गर्न ओर्लिने म्याथ्यूज ७ हजार रनको आँकड़ा पूरा गर्नको साथै आउट भए। उनलाई म्याट हेनरीले पभेलियन पठाए।
यसबीच आयोजक टीमका दिग्गज पेस बलर टिम साउथी देब्रे हातका स्पिनर डेनियल भिटोरीलाई पछि छोड़्दै टेस्ट क्रिकेटमा न्यूजील्याण्डको तर्फबाट दोस्रो सर्वाधिक विकेट लिने बलर बने। कुसल मेण्डिसलाई आउट गर्नको साथै साउथीले भिटोरीलाई पछि छोड़े। साउथीले अहिलेसम् ९३ वटा टेस्ट म्याचमा ३६२ विकेट लिएका छन्। यसरी नै भिटोरीले ११२ वटा टेस्ट म्याचमा ३६१ विकेट लिएका थिए। टेस्ट क्रिकेटमा न्यूजील्याण्डको तर्फबाट सर्वाधिक विकेट लिने रेकर्ड सर रिचर्ड हेडलीको नाममा रहेको छ। उनले ८६ वटा टेस्ट म्याचमा ४३१ विकेट लिएका थिए। यसरी साउथी अहिले महान हेडलीको रेकर्ड तोड़्नदेखि केवल ७० विकेटको दूरीमा रहेका छन्। टेस्ट म्याचको पहिलो दिन श्रीलंकाले आफ्नो पहिलो ईनिंग्समा ६ विकेट गुमाएर ३०५ रन बनायो।

About Author

Advertisement