७ मार्चः सिलगढ़ी नजिक खोलाचन्द फाप्रीकी युवा एथलीट प्रिया छेत्री आज उत्तर बंगालको अग्रणी फूटबल टीम कञ्चनजंघा फूटबल क्लब (केएफसी)-को तर्फबाट सम्बर्द्धना जनाइयो। प्रियाले हालै दिल्ली म्याराथनको हाफ म्याराथन (२१.१ किलोमीटर) स्पर्धामा असाधारण प्रदर्शन गर्दै नवौं स्थान हासिल गरेकी थिइन्। यसअघि उनी कलकत्तामा भएको हाफ म्याराथनमा पाँचौं अनि गोरुबथानमा भएको दौड़मा पनि दोस्रो स्थानमा रहेकी थिइन्। यसको साथमा प्रियाले उत्तर बंगाल मात्र नभएर सम्पूर्ण देशमा विभिन्न म्याराथनहरूमा हिस्सा लिएर आफूलाई दिग्गज धावकको रूपमा स्थापित गरिसकेकी छन्। आज सुकना नजिक खेल मैदानमा केएफसी-द्वारा आयोजिक सम्बर्द्धना कार्यक्रमको सञ्चालन क्लबका कार्यकारी अध्यक्ष सुरेन प्रधानले गरेका थिए।

सर्वप्रथम केएफसी-का संरक्षक डा. मैनाक मुखर्जीले प्रिया अनि उनका पिता प्रकाश छेत्रीलाई खदार्पण गरे। त्यसपछि टेक्निकल टीमका सदस्य कप्तान एच के लामा, कप्तान एस डी तामाङ, अमर तामाङ, पीसी थुलुंग, मदन राणाले खदार्पण गरे भने क्लबका मुख्य प्रशिक्षक दिनकर छेत्री, सुरेन प्रधान, सह-सचिव बिजय लिम्बू, मेम्बर एल के राई (सोताङ), क्लबका सहायक प्रशिक्षक संजय छेत्री, रोल्याण्ड सुब्बा, सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएसनबाट अध्यक्ष अशोक प्रधान, दुर्गा शर्मा, भूतपूर्व सैनिक संगठन सुकनाबाट रतन छेत्री, आशिष प्रधान र सुकना ग्रामीण महिला समिती भाग २ की सदस्याहरू बिन्दिया राई, निरुता लामा र अनिता लामाले पनि खदार्पण गरि प्रियालाई सम्मान जनाइन्।

त्यसपछि कप्तान एसडी तामाङले सम्बर्द्धना पत्र पठन गरे अनि अन्य संघ-संस्थाहरुले पनि उदीयमान एथलीटलाई यसरी सम्मान जनाउने आग्रह गरे पछि क्लबका संरक्षक डा. मैनाक मुखर्जी र सुरेन प्रधानको बाहुलीबाट उक्त सम्बर्द्धना पत्र प्रिया छेत्रीलाई प्रदान गरियो। आज अभ्यासको निम्ति मैदानमा उपस्थित क्लबका खेलाड़ीहरूले पनि प्रियालाई बधाई एवम् शुभकामना दिए भनी केएफसी-का कार्यकारी अध्यक्ष सुरेन प्रधानद्वारा जारी मीडिया विज्ञप्तिमा जनाइएको छ।