भाजपाको जीपीयूमा सम्पर्क अभियान सम्पन्न

IMG_20220613_233355.jpg

मंगन। भाजपा सिक्किमले गत १ जूनदेखि शुरू गरेको १५ दिवसीय सेवा, सुशासन एवं गरीब कल्याण अभियान अन्तर्गत आज मंगन जिल्लामा कार्यक्रम साथै विभिन्न जीपीयूमा सम्पर्क अभियान सम्पन्न भयो। उक्त सम्पर्क अभियान केन्द्रमा मोदी सरकारको ८ वर्ष पूरा भएको अवसरमा गरिएको थियो। कार्यक्रममा प्रमुख रूपमा राज्य प्रवक्ता डा. राजु गिरीको उपस्थिति रहेको थियो भने जिल्ला अध्यक्ष टाशी अंङडुप लेप्चा, जिल्ला प्रभारी सोनाम तोप्गे तामाङ, प्रदेश आईटी कन्भेनर आईके रसाईली, जिल्ला कमिटीका पदाधिकारीगण विभिन्न मण्डल अध्यक्षगण, युवा मोर्चा प्रतिनिधि एवं कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष टाशी अङ्डुप लेप्चाले उत्तर सिक्किमलाई भाजपा सरकारले दिएका सौगात, विकासीय पूर्वाधारहरू साथै गरीब कल्याणका विभिन्न योजनाहरूमाथि प्रकाश पारे। यस क्रममा उनले विगत तीन वर्षमा प्रधानमन्त्री जन विकास कार्यक्रम अन्तर्गत अल्पसंख्यकबहुल उत्तर जिल्लाको विकासमा विभिन्न सौगातहरू दिएको बताउँदै रिङघिममा १२.३० करोड़को लागतमा पोलिटेक्निक संस्थानको निर्माणकार्य भइरहेको, जिल्लाका १३ वटा स्कूलहरूमा स्मार्ट क्लास उपकरणहरू जड़ान गरिएको, विभिन्न स्कूलहरूमा विज्ञान प्रयोगशालाहरूको निम्ति भवन निर्माण, खेल मैदान, रामथाङ, तिनभोङ, सुफो अनि फेन्सोङमा प्राथमिक स्वास्थ्य उपकेन्द्रहरूको निर्माण, सारचोकमा सांस्कृतिक केन्द्र, मंगनमा तामाङ समुदायको निम्ति सामुदायिक भवन आदि प्रमुख पूर्वाधारहरू रहेको बताए।
यस अतिरिक्त छोटा साम्दोङमा रेसिडेन्सियल मोडल स्कूलको निर्माण, आईटीआई चाँदेमा ५० पलङयुक्त गर्ल्स होस्टल लगायत अन्य विभिन्न पूर्वाधारहरू उत्तर सिक्किममा अल्पसंख्यक बौद्ध समुदायलाई ध्यानमा राखेर केन्द्र सरकारले आवण्टन गरेको जानकारी दिए। यसै गरी केन्द्र सरकारले सबै जिल्ला मुख्यालयलाई दुई लेनको राष्ट्रिय राजमार्गसँग जोड्ने योजना अन्तर्गत मंगन लगायत उत्तर सिक्किमको सीमा क्षेत्रसम्म चौड़ादार सड़कहरूको विकास भइरहेको अवगत गराए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रवक्ता डा. राजु गिरीले विभिन्न जनकल्याणकारी योजनाहरू र यसबाट उत्तर सिक्किमले पाएका लाभहरूबारे उपस्थित सबैलाई अवगत गराए। उनले विशेष गरेर उत्तर जिल्लामा मोदी सरकारको महत्वकांक्षी योजना बेटी-बचाउ, बेटी पढ़ाउ लागू गरेर धेरै लाभ पुगेको, कोरोना कालमा मंगन जिल्ला अस्पतालमा अक्सिजन प्लाण्टको जड़ान गरिएको तथा जल जीवन मिशन अन्तर्गत राज्यव्यापी रूपमा हर घर जल सुविधा प्रदान गरिएको बताए।
यस अतिरिक्त उत्तर सिक्किमका जनजाति समुदायका विद्यार्थीहरूको निम्ति केन्द्र सरकारले विभिन्न छात्रवृत्ति योजनाहरू चलाइरहेको बताउँदै सम्बन्धित विभागहरूले विद्यार्थीहरूलाई सो लाभ सुनिश्चित गर्नुपर्ने बताए।
कार्यक्रमलाई अन्य वक्ताहरूले पनि सम्बोधन गरेका थिए भने कार्यक्रमको समापनपछि जनसम्पर्क तथा केन्द्र सरकारले सिक्किममा गरेका तमाम उपलब्धिहरू उल्लेख गरिएको पत्रिका वितरण गरिएको जानकारी प्रवक्ता गिरीले प्रेस विज्ञप्तिमा दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *