गान्तोकः खामदोङ सिङताम निर्वाचन क्षेत्रका प्रभारीको रूपमा नियुक्त मन्त्री सोनाम लामालाई आज क्षेत्रका जनताले भव्य स्वागत जनाए। क्षेत्र विधायक तथा पूर्व मन्त्री डा. एमके शर्माले एसकेएम पार्टीबाट राजीनामा दिएपछि एसकेएम पार्टीले मन्त्री लामालाई खामदोङ सिङताम निर्वाचन क्षेत्रको प्रभारी नियुक्त गरेको छ। एसकेएमद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, गत केही दिन अघि एसकेएम पार्टी मुख्यालयले संघ विधायक तथा मन्त्री सोनाम लामालाई खामदोङ सिङतामको समष्टि प्रभारी नियुक्त गरेपछि आज खामदोङ सिङतामका जनताले मन्त्री लामालाई टोपाखानीमा बाक्लो उपस्थिति दिएर सहर्ष स्वागत जनाए। यस अवसरमा मुख्यमन्त्रीका सल्लाहकार द्वय टीएन ढकाल र रोहितराज महाराज, समष्टि सभापति तथा सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश तामङ, नगर पञ्चायतगण साथै समष्टिस्तरीय पार्टी कार्यकारिणी अनि स्थानीय जनताको बाक्लो उपस्थिति रहेको थियो।
मन्त्री लामाको स्वागतको निम्ति २०० भन्दा अधिक गाडीको ऱ्याली डिपु डाँडा हुँदै खामदोङमा पुगेर जन सभामा परिणत भएको थियो। मन्त्रीले समष्टिस्तरीय पार्टी कार्यालयको पनि विधिवत उद्घाटन गरे। आज उद्घाटित एसकेएम पार्टीको कार्यालय पहिले विपक्षी एसडीएफको पार्टी कार्यालय रहेको र सोही घरमा एसकेएम कार्यालय स्थापना गरिएको बताइएको छ। मन्त्री लामाले पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीको निर्देशन अनुरुप आफूलाई पार्टीले विश्वास गरेर यो जिम्मेवारी सुम्पिएकोमा खुशी लागेको बताए। पार्टी अध्यक्षले आफूमाथि ठूलो विश्वास गरेर जुन जिम्मेवारी सुम्पेका छन्, त्यसलाई शिरोपर गरेर निर्वहन गर्ने बताए। उनले समष्टिका जनताले आफुलाई अपार माया दिएकोमा कृतज्ञता जनाए। आजको कार्यक्रममा सम्बन्धित क्षेत्रबाट धेरै संख्यामा एसडीएफ कार्यकर्ता लगायत अन्यले पार्टी छोडेर एसकेएममा सामेल भएको बताइएको छ।