सोनादा: सिङसा भोटिया बुध्दिष्ट ट्राइबल संघ, नयाँबस्ती सोनादाको तत्वावधानमा आज नयाँबस्ती सार्वजनिक भवनमा ल्होसार र लापसो कार्यक्रम आयोजन गरिएको थियो। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीएको कार्यकारी सभासद एंव सोनादा पचेङ समष्टीको सभासद अनोश थापा उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा भागोप्रमो सोनादा पचेङ समष्टीको सभापति सोनाम लामा, सुखिया पोखरी खण्डको खण्ड विकास अधिकारी, सिङसा भोटिया बुध्दिष्ट ट्राईबल संघको केन्द्रीय सभापति निमा भोटिया, सचिव निमा छेकी भोटिया लगायत अन्यहरू उपस्थित रहेका थिए। यस अवसरमा नानीहरूले नृत्य प्रस्तुत गरेका थिए भने बुध्दिष्ट रीति अनुसार पूजा अर्जना पनि गरिएको थियो। विशेष गरी शेर्पा भोटिया जातिको दशैं मानिने ल्होसार पर्वको १५ दिनभित्र पालन गरिने लापसोको सानो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सोनादा क्षेत्रमा विभिन्न विधामा रहेर समाजमा विशिष्ट योगदान दिने व्यक्तिहरूलाई सम्बर्ध्दना पनि जनाइएको छ। कार्यक्रममा अतिथिहरूलाई खदार्पण गरेर स्वागत जनाइयो भने छ्याङगोहरू पनि वितरण गरिएको थियो। कार्सक्रममा मुख्य अतिथिको रूपमा उपस्थित जीटीएको कार्यकारी सभासद एंव सोनादा पचेङ समष्टीको सभासद अनोश थापाले आफ्नो सम्बोधनमा यस्तो धार्मिक कार्यक्रममा उपस्थित हुन पाएकोमा खुशी लागेको बताउँदै जात र धर्म नभनी यसरी मिलेर बस्नु र मिलेर कार्यक्रम गर्दै आफ्नो संस्कार र संस्कृति जगेरा गर्नु राम्रो कुरा रहेको बताए। उनले हामी सबै मिलेर राम्रो सोनादा बनाउनुपर्छ भनी आह्वान् गरेका छन्।

कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सिङसा भोटिया बुध्दिष्ट ट्राइबल संघकी सचिव निमा छेकी भोटियाले ल्होसार पर्व शेर्पा भोटियाहरूका लागि दशैं तिहार जस्तै हो भनी बताइन्। उनले आज ल्होसार र लापसो कार्यक्रम आयोजना गरिएको र ल्होसारको १५ दिनभित्र यो लापसो पालन गरिने बताउँदै यो लापसोको अवसरमा हामीले लुङ्दरहरू लगाएर साङगहरू र छेबोहरू लगाएर भगवानलाई खुशी बनाएको बताइन्। उनले यस अवसरमा भविष्यमा राम्रो होस् भनेर प्रार्थना गरिएको पनि बताइन्।