गान्तोकः भारतले गत १ दिसम्बर २०२२ देखि ३० नोभेम्बर २०२३ सम्म एक वर्षको लागि जी २० को अध्यक्षता ग्रहण गरेपछि यसले देशभर दुई सयभन्दा बढी बैठकहरू आयोजना गर्ने भएको छ। यस अन्तर्गत सिक्किमलाई पनि मार्च महिनामा दुईवटा बैठकहरू आयोजना गर्न चयन गरिएको छ, जो राज्यको लागि अत्यन्त ठूलो र गौरवको विषय हो। उक्त कुरा मुख्यमन्तीका प्रेस सचिव एवं एसकेएम पार्टीको प्रचार-प्रसार प्रमुख ‘समन्वयक विकास बस्नेतले आज जारी प्रेस विज्ञप्तिमा बताएका छन्।
उनले भनेका छन्, सिक्किमले १६ मार्च, २०२३ को दिन व्यापार(बी २०) र १८ अनि १९ मार्च २०२३ मा स्टार्टअप २० आयोजना गर्नेछ। यी बैठकहरूमा जी २० देशहरूका लगभग ८० प्रतिनिधिहरू सहभागी हुनेछन्। उनले उत्तर-पूर्वी राज्यहरूमा सिक्किम एक मात्र यस्तो राज्य रहेको बताएका छन् जसलाई भारतको जी २० अध्यक्षता अन्तर्गत दुईवटा बेग्लाबेग्लै कार्यक्रम आयोजना गर्न चयन गरिएको छ। उनले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्र सरकारसँग उत्कृष्ट सम्बन्ध राखेर काम गरिरहेकाले राज्यलाई यस्तो अवसर प्राप्त भएको हो भनी बताएका छन्। भारतले यसपालि जी २० अध्यक्षता गर्नसँगै पूर्वोत्तर राज्यहरू मध्ये सिक्किमले मात्र दुईवटा भित्रै कार्यक्रम आयोजन गर्न पाउनु राज्यवासी सबैको लागि गौरवको विषय रहेको उनले बताएका छन्।
उनले भनेका छन्, राज्यमा हुने बी २० को कार्यक्रमले यहाँको आर्थिक क्षमतालाई प्रकाश पार्ने र जी २० देशहरूका व्यापारिक समुदायहरूसँग साझेदारीको लागि मार्ग प्रशस्त गर्नेछ। साथै अविश्वसनीय प्राकृतिक सौन्दर्य र रणनीतिक स्थानको लागि परिचित सिक्किमले अवश्य पनि पर्यटन, आतिथ्य, कृषि र औषधिमा बहुपक्षीय व्यापार साझेदारीको लागि व्यापक अवसरहरू प्रदान गर्न र सामूहिक रूपमा जी २० देशहरूका सम्मानित प्रतिनिधिहरूलाई हाम्रो आर्थिक शक्ति प्रस्तुत गर्न सकिनेछ। त्यसैगरी, स्टार्टअप २० ले सिक्किममा स्टार्टअपमा संलग्न व्यक्तिहरूको आफ्नो प्रयासलाई अर्को तहमा लैजान मञ्च प्रदान गर्नेछ। प्रेस सचिव बस्नेतले अझ भनेका छन्, पछिल्ला केही वर्षहरूमा, सिक्किमका युवाहरूको मानसिकतामा यसको स्पष्ट र सकारात्मक परिवर्तन देखिएको छ भने अहिले स्टार्टअप संस्कृतिमा वृद्धि पनि भएको छ। दुई दिने स्टार्टअप २० संलग्नताले सिक्किमका युवाहरूलाई आफ्ना उत्पादनहरू प्रदर्शन गर्नका साथै प्रतिष्ठित प्रतिनिधिमण्डलबाट अन्तर्ररष् प्राप्त गर्ने पर्याप्त अवसरहरू प्रदान गर्नेछ।