युवा संगमअन्तर्गत सिक्किमे विद्यार्थीहरूको ६ दिवसीय ओडिशा भ्रमण सम्पन्न

photo-6

गान्तोकः एक भारत श्रेष्ठ भारतको अवधारणामा सञ्चालन भइरहेको युवा संगम कार्यक्रम अन्तर्गत ओडिशा भ्रमणमा गएको २५ विद्यार्थीहरू एवं ५ जना समन्वयकहरूसहितको सिक्किमे टोली ६ दिवसीय भ्रमण सकेर आज सिक्किम फर्किएको छ। उक्त जानकारी पीआईबीले दिएको छ। भ्रमणको पहिलो दिन सिक्किमे टोलीलाई एनआईटी राउरकेलाका प्रतिनिधिहरूले पारम्परिक रूपमा भव्य स्वागत जनाएका थिए। ६ दिवसीय भ्रमण अवधिमा सिक्किमे टोलीले एनआईटी राउरकेलास्थित विभिन्न अनुसन्धान केन्द्र, इन्कुबेशन सेण्टर साथै डाटा सेण्टरहरूको भ्रमण गरेका थिए। उनीहरूले राउरकेला स्टील प्लाण्टको भ्रमण गरेर आफ्नो तक्निकी ज्ञान बढ़ाउने मौका पाएका थिए। यस अतिरिक्त विद्यार्थीहरूले हिराकुड बाँध, बिरसा मुण्डा हकी स्टेडियमलगायत अन्य विकासीय पूर्वाधारहरूको तक्नीकी पक्षबारे अध्ययन गर्ने पनि मौका पाए। यसै गरी उनीहरूले ओडिशाका विभिन्न धार्मिक, पारम्परिक एवं पर्यटन स्थलहरूको भ्रमण गरे।

भ्रमण अवधिमा एनआईटी राउरकेला अनि आईआईएम सम्बलपुरका निर्देशकद्वारा यस भ्रमण कार्यक्रमको उद्देश्य अनि देशको विविधतामा एकतामा यसको प्रासंगिकताबारे विद्यार्थीहरूलाई अवगत गराइएको थियो। भ्रमण कार्यक्रमलाई अझ रोचक बनाउन एनआईटी राउरकेलाले विभिन्न सांस्कृतिक आदान-प्रदानका कार्यक्रमहरू आयोजन गरेको थियो जहाँ ओडिशाका विविध सांस्कृतिक एवं पारम्परिक प्रदर्शनीहरू पेश गरिएको थियो। यस अवधि विद्यार्थीहरूले ओडिशाको आजिवीका, जीवनशैली साथै खानपानबारे बुझ्ने अवसर पनि प्राप्त गरेका थिए। विद्यार्थीहरूले सम्बलपुर जिल्लाको खिन्दा गाउँमा सम्बलपुर क्षेत्रबाट प्रथम स्वतन्त्रता संग्राम, १८५७ -का नायक वीर सुरेन्द्र साईलाई श्रद्धाञ्जलि अर्पण गरे।

उल्लेखनीय छ, युवा संगम कार्यक्रम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको एक भारत-श्रेष्ठ भारत अवधारणा अन्तर्गत पूर्वोत्तर राज्यका युवाहरूको देशका अन्य राज्यहरूबीच सांस्कृतिक एवं पारम्परिक रूपमा जोड्ने उद्देश्यले शुरू गरिएको एउटा बहुआयामी पहल हो। यो अध्ययन भ्रमणलाई भारत सरकारकारको शिक्षा मन्त्रालयले संस्कृति, पर्यटन, रेलवे, खेल तथा युवा मामिला, आईआरसीटीसी, एआईसीटीई साथै पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयसितको समन्वयमा सञ्चालन गरिरहेको छ। एक भारत-श्रेष्ठ भारतको अवधारणालाई पूर्ण युवा संगम एउटा उदाहरणीय पहल हो। सिक्किममा यस कार्यक्रमलाई राष्ट्रिय प्रौद्योगिकी संस्थान, सिक्किमले सिक्किम सरकारसितको समन्वयमा आयोजन गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement