खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको जोगमाया चियाबारीमा एक लाख रुपियाँ नगदराशि पुरस्कार भएको फुटबल टुर्नामेन्टको उपाधि जोहन एफसीले जितेको छ। युनाईटेड जोगामया स्पोर्टिङ्ग क्लब ( युजीएससी) को अायोजनामा भईरहेको फुटबल टुर्नामेन्टको आज आईतबार भएको फुटबल फाइनल खेलमा पेनल्टी शुट आउटमा जोहन एफसीले हिरो बजार तीनधारेलाई पराजित गरी उपाधि जितेको छ। आज सम्पन्न फाइनल खेलको शुरुमा नै हिरो बजार तीनधारेको १० नम्बर जर्सीधारी वाङचु तामाङले गोल बढ़त बनाएको थियो। पहिलो हाफको खेल १-० अन्तरमा सकिएको थियो भने दोस्रो हाफमा पनि हिरो बजारले खेलमा पकड बनाएको थियो। अर्कोतिर जोहन एफसीले लगातार रूपमा गोल गर्ने प्रयास गरिरहेको थियो जसको परिणामस्वरुप खेलको अन्त्यतिर जोहन एफसीको पक्षमा जर्सी नम्बर १२ बुध्द बम्जनले गोल गरेर खेल बराबरीमा ल्याएको थियो। खेल बराबरीमा आएपछि भने फाइनल खेल निक्कै चापाचाप बनेको थियो। निर्धारित समयसम्ममा पनि १-१ गोल भएपछि सोझै पेनल्टी खेलाइएको थियो। पेनल्टीमा पनि बराबर गोल भएको थियो। त्यसपछि दुवै दलको किप्परमाझ पेनल्टी भएपछि परिणाम आएको थियो। जोहन एफसीको गोल किपर राजीव सिन्हाले दुई गोल सेफ गर्नुको साथै अन्तिम पेनल्टीमा पनि गोल गर्न सक्षम बनेपछि आफ्नो टिमलाई जिताउन सफल बनेको थियो। विगत २५ दिसम्बर २०२२ देखि शुरु नगदराशि फुटबल टुर्नामेन्टमा जम्मा २४ वटा दलहरूले भाग लिएका थिए।

यस फुटबल फाइनल खेलमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री उपस्थित रहेका थिए। उनले आफ्नो सम्बोधनमा जोगमाया चियाबारीको फुटबल मैदानलाई सुन्दरीकरण गर्न र खेल मैदानको फेन्सिङ गरिदिने वचन दिएका छन्। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित प्रमुस भोटियाले ड्रग्समाथि सचेतनामूलक वक्तव्य राखेका थिए भने जोगमाया चियाबारीको दुईजना धावकलाई जर्सी प्रदान गरेका थिए। यस फाइनल खेलमा म्यान अफ् द म्याच हिरो बजार तीनधारेको वाङचु भोटियालाई चयन गरियो भने बेस्ट गोल किपरको अवार्ड जोहन एफसीको गोल किपर राजीव सिन्हालाई चयन गरियो। फाइनलमा उपाधि जित्ने टिम जोहन एफसीलाई नगदराशि एक लाखसहित ट्रफी र उप विजेता हिरो बजारलाई पचास हजारसहित ट्रफी प्रदान गरियो। यस फुटबल टुर्नामेन्टमा निर्णायकको भूमिकामा रहेका खरसाङ निवासी अमीत भुजेललाई आयोजक समितिको तर्फबाट सम्बर्ध्दना पनि जनाइएको छ। यस फाइनल खेलमा विशिष्ट अतिथिको रूपमा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, उप सभापति राजु लामा, प्रमुस भोटिया, नरेन राई, राजु छेत्री, महेश छेत्री, रमेश प्रधान, घनश्याम प्रधान, जोगमाया चियाबारीको प्रबन्धक लगायत अ अन्यहरू उपस्थित रहेका थिए।

यस फुटबल फाइनलपछि पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिको पक्षबाट रबीन मंगरले विस्तृत रूपमा जानकारी गराएका छन्।