नयाँ दिल्ली: नक्सलवादीहरूले छत्तीसगढको कोण्डा गाउँ जिल्लाअन्तर्गतको दुर्गम गाउँ पुङ्गारपालबाट ६ जना गाउँका मानिसहरूलाई अपहरण गरेका छन्। नक्सलवादीहरूले एकजनाको हत्या गरेको समाचार छ। गाउँवासीको सूचनाको आधारमा पुलिसले आइतबार बिहान शव उद्धार गरेर पोस्टमार्टमका लागि पठाएको छ।
पुङ्गारपाल पुलिस थानाबाट प्राप्त जानकारीअनुसार शनिबार तुमड़ीवाल गाउँमा केही कामका लागि गाउँलेहरु भेला भएका थिए। सोही बेला बेलुकी ५ देखि ६ बजेको बीचमा केही अज्ञात व्यक्तिहरू आएर गाउँका ६ जना मानिसहरूलाई अपहरण गरेर आफ्नो कब्जामा लिए। अपहरणकारीहरूले साँझसम्म चारजना गाउँलेलाई सकुशल रिहा गरे पनि दुईजनालाई नियन्त्रणमा राखे। उनीहरू मध्ये एकजना उनीहरुको हातबाट जोगिए पनि नक्सलवादीहरुले एकजनाको हत्या गरी उनको शव गाउँका पूर्व प्रधानको घर नजिकै छाडेर गए। यसैबीच नक्सलवादीबाट मुक्त भएर फर्किएका अन्य पाँचजना गाउँवासीलाई पनि सोधपुछ गरी पुलिसले घटनाको छानबिन गरिरहेको छ।









