कोलकाता: पश्चिम बङ्गाल राज्यका विभिन्न अस्पतालमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएका बालबालिकालाई भर्ना गर्ने प्रक्रिया चलिरहेको छ। बीसी रोय अस्पतालमा आइतबार थप तीनजना नानीहरूको मृत्यु भएपछि विगत नौ दिनमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ। अस्पताल स्रोतका अनुसार मेटियाब्रुज र मिनाखाँका दुईजना नानीको आइतबार बिहान मृत्यु भएको छ। बालिका मेटियाब्रुज नजिकैको नदियाल पुलिस थाना क्षेत्रकी निवासी थिइन्। डेढ वर्षकी यी बालिकलाई ज्वरो र रुघाखोकी लागेपछि एक साताअघि अस्पताल भर्ना गरिएको थियो। केही दिन उपचार गर्दा पनि बालिकाको स्वास्थ्यमा सुधार नभएको स्रोतले जनाएको छ। परिवारका सदस्यहरूले बताएअनुसार बालिकाको अवस्था दिन प्रतिदिन सोचनीय बन्दै गएको र आइतबार बिहान प्रायः ६ बजे उनको मृत्यु भयो।
उता दक्षिण २४ परगनाको मीनाखाँ थाना क्षेत्रको चौतलमा एकजना बालकको मृत्यु भएको छ। उनी गएको ६ दिनदेखि अस्पतालमा भर्ना भएका थिए। यसै क्रममा बिहान प्रायः साँढे १० बजेतिर बालकको मृत्यु भएको समाचार छ। ज्वरो, रुघाखोकीको गुनासो आएपछि परिवारले १३ फरवरीको दिन उनलाई अस्पताल भर्ना गरेका थिए। शनिबार उनको अवस्था बिग्रिएपछि आईसीयू बेड आवश्यक परेको थियो, तर सो उपलब्ध नभएको आफन्तलेे गुनासो पोखेका छन्।










