अब दोदक ब्लकमा सबै सब्लेट लाइसेन्स बन्द गरिने

IMG-20230304-WA0256.jpg

सोरेङ: वित्तीय वर्ष २०२३-२४ लाई केन्द्र गर्दै आज दोदक ग्राम प्रशासनिक केन्द्रमा ग्राम पञ्चायत विकास योजना विषयमा ग्राम सभा सम्पन्न भयो। ग्रामसभाको अध्यक्षता पञ्चायत सभापति हर्ष कुमारले छेत्रीले गरेका थिए। वहाँको साथमा जिल्ला पञ्चायत सदस्य अञ्जु गुरुङ, पञ्चायत उप-सभापति रेनुका गुरुङ, पञ्चायत सदस्यहरु क्रमशः सुजाता गुरुङ, कृष्ण कुमारी छेत्री र अरुण कुमार सुब्बा, बीडीओ वाङ्दी शेर्पा, विभिन्न विभागीय अधिकारी र कर्मचारीगण, विभिन्न संघ-संस्थान र नागरिक समाजका प्रतिनिधिगण, सेवानिवृत्त कर्मचारी र स्थानीय आमजनताको बाक्लो उपस्थिति थियोे।
ग्राम सभामा वित्तीय वर्ष २०२३-२४ को लागि दोदक ब्लक अन्तर्गत पाँचै वार्डका सम्बन्धित पञ्चायतले वार्ड सभामार्फत पारित गरिएको आ-आफ्नो वार्डका माग र विभिन्न प्रस्तावहरु गाउँले सरकारको सदनमा पेश गरे। पछिबाट उक्त मागहरूलाई ग्राम सभाले ध्वनिमतले पारित गरे।
आज सम्पन्न ग्राम सभाले दोदक ब्लकबाट अब सबै सब्लेट लाइसेन्स बन्द गर्ने प्रस्ताव पारित गरियो। यसको साथै जति पनि राज्य बहिराबाट आएका सबै मजदुरहरुले अनिवार्य रूपले आ-आफ्नो व्यक्तिगत डाटा ग्राम पञ्चायतमा बुझाउनुपर्ने पनि प्रस्ताव पारित गरियो।
सर्वोच्च न्यायालयले भर्खरै ओल्ड सेटलर्सको मुद्दाको फैसलामा सिक्किमेली नेपाली समुदायलाई ‘विदेशी मूलको सेटलर’ जस्तो आपत्तिजनक टिप्पणी गरेको विषयलाई गम्भीरतापूर्वक लिँदै राज्य सरकारको पहलमा उक्त टिप्पणीलाई सर्वोच्च अदालतले हटाइदिएकोमा सरकारप्रति कृतज्ञता प्रकट गर्दै ग्राम सभामा धन्यवाद प्रस्ताव पनि गरियो।

दोदक ब्लकभित्र यदि कसैले दोकानहरु लाइसेन्स सब्लेट गरेर चलाउँदैछन् भने उक्त लाइसेन्स अब रद्द गरिने अनि कसैले पनि बेपार लाइसेन्स बेरोजगारी हुँदा बनाएको तर पछि सरकारी नोकरी पाएपछि पनि उक्त लाइसेन्स सम्बन्धित निकायमा समर्पण गरेको छैन भने उक्त लाइसेन्स पनि तुरुन्तै खारेज गरिने पनि ग्राम सभामा प्रस्ताव पारित गरियो। दोदक ब्लकमा राज्य बाहिरीका काम गर्न आएका मजदुरहरुको बढ्दो संख्यालाई ध्यानमा राख्दै जतिपनि बाहिरीका काम गर्ने मान्छेहरु दोदक ब्लकभित्र किराया (रेन्ट)-मा बस्दैछन् ती बस्ने मान्छेहरुको जानकारी या डाटा सम्बन्धित घर मालिकले ग्राम पञ्चायतमा चाडै बुझाउनुपर्ने पनि ग्राममा प्रस्ताव पारित गरियो।

ग्राम सभाले सरकारद्घारा इनर लाइन प्रमिट (आइएलपी) विषयमा अध्ययन गर्न शीर्ष कमिटीको गठन गरेको सम्बन्धमा पनि सरकारको सराहना गर्दै सरकारप्रति धन्यवाद प्रस्ताव पारित भयो।

दोदक ब्लकलाई इन्फ्लस फ्री (अनुप्रवेसरहित) ग्राम पञ्चायत बनाउने दिशामा महत्त्वपूर्ण पहल आरम्भ गर्ने पनि ग्राम सभामा परिचर्चा भयो।

स्थानीय आमजनता तथा ग्राम सभाका सदस्यहरुले सम्बन्धित लाइन विभागमाथि उठाएका प्रश्नहरुमा विभागीय प्रतिनिधिहरुले क्रमबद्ध रूपमा जवाफ दिए। ग्रामसभालाई बीडीओ वाङ्दी शेर्पाले पनि सम्बोधन गरेका थिए भने जिल्ला पञ्चायत सदस्य अञ्जु गुरुङ, वार्ड पञ्चायत साथै एक दर्जन जति लाइन विभागका अधिकारीले पनि आफ्नो विभागको कार्यक्रममाथि प्रकाश पारेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *