
गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले शनिवार राजभवन परिसरमा जम्मू कश्मीरबाट ल्याइएका आइफलका विरुवाहरू लगाए। केसरको सफल परीक्षणपछि अब आइफलको खेतीको सम्भावनाहरूलाई ध्यानमा राख्दै यसलाई प्रयोगको रूपमा लगाइएको राज भवनले बताएको छ। राजभवनमा शनिवार साँझ आयोजित एक कार्यक्रममा राज्यपाल र राज्य कृषि विभाग मन्त्री लोकनाथ शर्माको बाहुलीद्वारा आइफलका विरुवाहरू कृषि एवं बागवानी विभागका अधिकारीहरूलाई हस्तान्तरित गरियो।
राज्यपाल आचार्यले भने, आइफलको खेतीले सिक्किम र जम्मूकश्मीरको सम्बन्धलाई प्रगाढ बनाउने छ भने अनुसन्धान, रोजगार आदिको निम्ति नयाँ आयामहरूको दैलो पनि खोलिने छन्। उनले सिक्किमको जैविक माटो र अनुकूल जलवायुमा आइफलको उन्नत खेतीले राज्यलाई विश्वमा चिन्हित गर्नेछ भनी विश्वास व्यक्त गरे। यस अवसरमा सिक्किम विश्वविद्यालयका कुलपति पनि उपस्थित थिए।