गान्तोकः रम्फूमा हिजो आयोजित सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको महिनाव्यापी घरदैलो अभियानको समापन समारोहमा सिक्किम आमा सशक्तिकरण योजना अन्तर्गत १४ हजारभन्दा धेरै आमाहरूलाई वित्तीय सहयोग प्रदान गरियो। यसको निम्ति सिक्किम क्रान्तिकारी मोर्चाले पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस तामाङ गोलेप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
एसकेएम प्रचार प्रसार उपाध्यक्ष बिरेन्द्र तामलिङले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘सिक्किम क्रान्तिकारी मोर्चा सरकारको सर्ववृहत कार्यक्रममध्ये एक सिक्किम आमा सशक्तिकरण योजना अन्तर्गत सिक्किमका आमाहरूलाई वित्तीय सहयोग प्रदान गर्ने कार्यक्रम हिजो सम्पन्न भयो। आमाहरूको कल्याणको निम्ति एसकेएम सरकारले यो योजना शुभारम्भ गरेको हो भने यो योजना सम्मननीय मुख्यमन्त्री पीएस तामाङ गोलेको परिकल्पनामा र अवधारणामा योजनाबद्ध गरिएको हो।’
उनले अझ बताए अनुसार, मुख्यमन्त्रीले आमा सशक्तिकरण योजना अन्तर्गत अर्को चरणमा अझ धेरै आमाहरूलाई समावेश गरिने बताएका छन्। अब उसो राज्यभरिका विपन्न परिवारका आमाहरूले यस योजनाबाट फाइदा प्राप्त गर्नसक्ने छन्। ब्याङ्क खातामा अधिक बचत राख्ने आमाहरूलाई सम्मान स्वरुप पुरस्कार प्रदान गरिने मुख्यमन्त्रीको घोषणाप्रति पनि उनलाई एसकेएमले धन्यवाद दिएको। एक महिनाव्यापी घर दैलो अभियान मार्फत् प्रत्येक समष्टिका जनताको घरघरमा पुगेर पार्टीका शीर्षस्थ टोली लगायत सीएलसी, बीएलसी अनि डब्लुएलसी कार्यकर्ताहरूले संकलन गरेको जनगुनासोलाई आधार गरेर आगामी दिनमा काम गर्ने पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीको भनाईलाई एसकेएमले स्वागत जनाएको छ।