सोनादा: सोनादा पचेङ समष्टीको सबै क्षेत्रहरूलाई लिएर भोलि ५ मार्चको दिन सोनादाको नाली चाउरमा पेय जल परियोजनाको शिलान्यास भईरहेको र उक्त शिलान्यास कार्यमा मुख्य अतिथिको रूपमा जीटीएको मुख्य कार्यपाल अनित थापा उपस्थित रहने भएको छ। उक्त जानकारी पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको कार्यकारी सभासद एंव सोनादा पचेङ समष्टीको सभासद अनोश थापाले बताएका छन्। उनले बताए अनुसार जीटीए क्षेत्रमा नै प्रथम हुनसक्छ कि सम्पूर्ण सोनादा पचेङ समष्टीको लागि एकै ठाउँंमा पेय जल परियोजनाको शिलान्यास भईरहेको छ जसमा मुख्य अतिथिको रूपमा जीटीएको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहनेछ। अनोश थापाले भने अनुसार सोनादा पचेङ समष्टीको ११ माइलदेखि सरस्वती डाँड़ा र तीनघरेसम्म, चटकपुरदेखि राजाहट्टा, जोनसनहट्टादेखि बच्चाबारीसम्म अनि भालुटारदेखि मिलिङ, लाइनधुरादेखि माली बस्तीसम्म सबैको लागि पेय जल परियोजनाको शिलान्यास हुने भएको छ। उनले उक्त शिलान्यास कार्यक्रममा सोनादा पचेङ समष्टीको सबैलाई उपस्थित भईदिने अनुरोध गरेका छन्। भोलि हुने कार्यक्रमको लागि क्षेत्रीय सभासद एंव जीटीएको कार्यकारी सभासद अनोश थापाले कार्यक्रम स्थलको स्थलगत निरीक्षण पनि गरेका थिए।