खरसाङ: गोर्खा जन पुस्तकालय, खरसाङको एउटा प्रतिनिधि टोलीले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापासँग उनको निवास स्थलमा भेट गरी खरसाङमा एउटा अत्याधुनिक बहुउद्देश्यीय भवन अनि खरसाङको खण्डहर भइसकेको गोदुनिस (जीडीएनएस) भवन जीर्णोद्धारको निम्ति स्मारक पत्र चढ़ाएको छ। उक्त टोलीमा गोर्खा जन पुस्तकालयको सभापति पूर्ण गुरुङ निरूपम, सचिव विनोद रसाइली, वरिष्ठ समाजसेवी तथा पूर्व सभापति तिलक शर्मा अनि कार्यकारी सदस्य अदिपकुमार रोका सामेल थिए। उक्त भेटघाटको क्रममा जन सम्पर्क अधिकारी सुवास प्रधान पनि उपस्थित थिए। स्मरण रहोस् गत अगस्त महिनामा गोजपुले खरसाङ नगरपालिका क्षेत्रमा रहेका प्रायः सबै संघ-संस्था तथा समूहहरूलाई निम्ताएर खरसाङमा बहुउद्देश्यीय भवनको औचित्यमाथि वृहत चर्चा गरेको थियो। खरसाङमा जीटीएको प्रथम कार्यकालमा नै स्थानीय टुरिष्ट लजको छेउमा महत्वाकांक्षी बहुउद्देश्यीय भवनको निम्ति सीमाङ्कन समेत भइसकेको थियो। तर पछि राजनैतिक अस्थिरता र आन्दोलनको कारण उक्त निर्माण कार्य हुन नसकेको कुरो उक्त सभामा जानकारहरूले राखेका थिए। खरसाङ शहरमा एउटा आदर्श प्रेक्षागृह (अडिटोरियम)-को खाँचो धेरै पुरानो हो। एक मात्र जीडीएनएस हल उक्त समस्याको आपूर्ति गर्दै आएको हो। तर उचित स्याहार सुसार र मरमत्तिको अभावमा उक्त भवन अत्यन्त जीर्ण भइसकेको छ। सभामा यस भवनको जीर्णोद्धारको पनि चर्चा भएको थियो। यसै सभाले पारित गरेको प्रस्तावलाई आधार बनाएर माउ संस्थाको रूपमा पुस्तकालयले यो पहल गरेको हो।भेटघाट कार्यक्रम सौहार्दमय मात्र नरहेर जीडीएनएस भवनको जीर्णोद्धार कार्य अविलम्ब हुने सङ्केतसहित बहुउद्देश्यीय भवनसम्बन्धि जीटीए प्रमुखले सकारात्मक प्रतिश्रुति दिएको जानकारी पुस्तकालयको सचिव विनोद रसाईलीले दिएका छन्।यसबाहेक भारतीय गोर्खाहरूका सबैभन्दा जेठो र धरोहर संस्था गोर्खा जन पुस्तकालयको संरक्षण र सम्बर्द्धनको उपायहरूमाथि पनि प्रमुखसँग कुराकानी भयो ।उनले प्रशासनको पक्षबाट सम्भव हुने सहयोग र व्यक्तिगत स्तरमा पनि गोजपुको विकास र संरक्षणमा दायित्वशील रहने कुरो जनाए। भेटघाटमा स्थानीय गोर्खा जातीय विभूति उद्यानलाई पर्यटनको मानचित्रमा गाँभेर देखरेख र नियमित रूपले जनसाधारणको निम्ति खुल्ला राख्नुको निम्ति एकजना कर्मचारीको व्यवस्था गरिनुपर्ने प्रतिनिधि टोलीको सुझावप्रति पनि उनले पहल गर्ने विश्वास दिलाएका छन्।